मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा कारबाही गर्दै १ सय ५७ क्याप्सुल ट्रामाडोल र ५२० मिलिग्राम हेरोइन बरामद गरेको छ।
हेटौंडा — मकवानपुर प्रहरीले लागुऔषधसहित ४ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–२ बाट २ जनालाई ट्रामाडोल र हेटौंडा उपमहानगरपालिका–५ बाट २ जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–२, नगरपालिकारोडस्थित गणेश मन्दिर अगाडिबाट मनहरी गाउँपालिका–१ घर भई हाल हेटौंडा–२, गणेश मन्दिर नजिक डेरा गरी बस्ने २० वर्षीय सुरेश थिङ र १९ वर्षीय सुजत थिङको साथबाट १ सय ५७ क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो ।
यसैगरी शनिबार साँझ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५, पिप्लेचोकमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा शान्तिटोलबाट पिप्लेचोकतर्फ आउँदै गरेको ना ३५ प ६७१२ नम्बरको स्कुटर चालक हेटौंडा–५ का २१ वर्षीय विशेष शाक्य र स्कुटरमा पछाडी सवार हेटौंडा–६ का ३८ वर्षीय सुवास चौलागाईको साथबाट प्रहरीले खैरो हेरोइन ५२० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।
लागुऔषधसहित पक्राउ परेका चारै जनालाई लागु औषधसम्वन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आवमाम मकवानपुरमा लागु औषध ओसारपसार र कारोबार गरेको आरोपमा १७ जना महिलासहित २८९ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १३ जना विदेशी नागरिक पनि छन् ।
