राजीनामाको घोषणापछि मुख्यमन्त्री लामा काठमाडौंतर्फ लागे

प्रमुख स्वकीय सचिवले प्रदेश प्रमुखलाई राजीनामापत्र बुझाउने

श्रावण १९, २०८२

प्रताप विष्ट

After announcing his resignation, Chief Minister Lama left for Kathmandu

हेटौंडा — बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख कार्यालयमा सोमबार राजीनामा दर्ता गराउने भएका छन् । आइतबार राजीनामा दिने घोषणा गरेका मुख्यमन्त्री लामा भने काठमाडौंतर्फ लागेका छन् ।

मुख्यमन्त्री लामाले राजीनामापत्र आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई प्रदेश प्रमुख कार्यालय दर्ता गराउने जिम्मा दिएका छन् । काठमाडौंबाट प्रदेश प्रमुख कार्यालय खुल्ने बित्तिकै प्रदेश प्रमुखकैसमक्ष आफूले मुख्यमन्त्रीको राजीनामा पेश गर्ने, यदि त्यसो नभएमा कार्यालयमा दर्ता गर्ने स्वकीय सचिव लामा बताए । 

आइतबार बेलुका पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका बाग्मती प्रदेशका मुख्यमन्त्री  लामा काठमाडौं गएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा आइतबार साँझ मात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । 

सोमबार बिहान देवकोटा हेटौंडा आइपुग्ने कार्यालयले जनाएको छ । लामाको राजीनामापत्र दर्ता भएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको आहृवान गर्नेछन् । 

प्रदेश प्रमुखको आह्वान लगत्तै कांग्रेस– एमाले गठबन्धनले कांग्रेसको संसदीय दलको नेता चयन भएका इन्द्रबहादुर बानियाँलाई बाग्मती प्रदेशको मुख्यमन्त्री बन्न दावी पेश गर्ने तयारी गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully