पीपीआर रोगले भीमेश्वरमा १३ खसीबाख्रा मरे

घातक पीपीआर रोग भेटिएपछि पशु ओसारपसारमा रोक लगाएर उपचार र भ्याक्सिन अभियान जारी राखिएको छ ।

श्रावण १९, २०८२

केदार शिवाकोटी

13 goats died in Bhimeshwar due to PPR disease

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका–१ देउरालीमा पीपीआर रोगको संक्रमण फैँलदा १३ वटा खसीबाख्रा मरेका छन् । विनोद बस्नेतको बाख्रा फर्मबाट फैलिएको रोगले एक सातामा १३ वटा खसीबाख्रा मरेका हुन् ।

बस्नेतले व्यावसायिक रुपमा पालन गर्न जिल्लाबाहिरबाट ल्याएका खसीबाख्रामा पीपीआर रोगको संक्रमण देखापरेको थियो । तिनैबाट अन्यमा रोग सरेको जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए । बस्नेतका मात्रै १२ बाख्रा मरेका हुन् ।

थप ६ गोठमा रोग फैलिएको हुन सक्ने भन्दै निगरानी बढाएर लक्षण देखिनेबित्तिकै सूचना दिन स्थानीयलाई आग्रह गरेको थापाले बताए ।

बाख्रामा घातक संक्रमण पीपीआर फैलिएपछि त्यस क्षेत्रमा सिल गरेर खसीबाख्राको उपचार भइहेको जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी थापाले बताए । ‘यो रोग निकै घातक र संक्रामक हुन्छ, तीव्र गतिमा फैलन्छ,’ उनले भने, 'पीपीआर देखिएको ३ सातापछि अन्य बाख्रामा पनि देखिन सकिन्छ, समयमै उपचार गरिएन भने किसानलाई ठूलो नोक्सानी हुन्छ ।'

संक्रमण फैलिएका क्षेत्रबाट खसीबाख्रा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । त्यस क्षेत्रका खसीबाख्रालाई भ्याक्सिन लगाउने काम पनि भइरहेको थापाले जानकारी दिए । 

केदार शिवाकोटी

Link copied successfully