लामखुट्टे नियन्त्रणका लागि साघुटारमा सुरु भएको अभियानमा विभिन्न समुदायका सदस्यहरू सक्रिय रूपमा सहभागी भएका छन्।
रामेछाप — रामेछाप नगरपालिका–३ स्थित साघुटार बजारमा लामखुट्टेको लार्भा नष्ट गर्न ‘सफा शुक्रबार’ अभियान सुरु गरिएको छ । साउन १६ गते शुक्रबारबाट थालिएको अभियानको पहिलो दिन बजार क्षेत्रमा सरसफाइ तथा लार्भा नष्ट गर्ने कार्य गरिएको हो ।
‘हप्ताको एक दिन, एक घण्टा–हुँदैन कुनै कष्ट, लामखुट्टेको लार्भा नष्ट’ भन्ने नाराका साथ सुरु गरिएको यो अभियानमा जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, टोल सुधार समितिका पदाधिकारी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
साघुटार स्वास्थ्य चौकीका प्रमुख युवराज सापकोटाका अनुसार अभियानअन्तर्गत पानी जम्ने सम्भावना भएका स्थानहरूबाट जमेका भाँडा, बोतल, टायर, प्लास्टिकजन्य फोहोर लगायतका वस्तुहरू हटाइएको छ । यस अभियानलाई अब हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने सापकोटाले बताए ।
घर पालुवा जनावरका लागि राखिने पानीको भाँडाहरू, शौचालयका ब्रस राख्ने स्टेन्ट, पूजा प्रयोजनमा प्रयोग हुने भाँडा र चुहिने वा फुटेका घरभित्रका पाइपहरूमा समेत लामखुट्टेले प्रजनन वा लार्भा उत्पादन गर्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरी खोज र नष्ट गर अभियान सुरु भएको हो ।
आकाशे पानी जम्ने घरको छत वा अन्य गहिरो भागमा पनि लामखुट्टे उत्पादन हुने भएकाले त्यस्ता सबै ठाउँमा लार्भा नष्ट अभियानमा ध्यान दिन साघुटार स्वास्थ्य चौकीले आग्रह गरेको छ ।
