मकवानपुर जिल्ला अदालतमा सरदरमा दैनिक ४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।
What you should know
हेटौंडा — मकवानपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम वर्षेनी बढ्दो छ । जिल्ला अदालत मकवानपुरमा गत आवमा १ हजार ४७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भए ।
तीमध्ये ७ सय ७३ थान मुद्दा फर्स्यौट भएका छन् । २ सय ७४ थान मुद्दा फर्स्यौट हुन बाँकी रहेको अदालतकी स्रेस्तेदार रोशी भण्डारीले बताइन् । सम्बन्धविच्छेदका लागि महिला पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् । सम्बन्धविच्छेदका दर्ता भएकामध्ये २ सय ७ थान मुद्दा पुरुषले दर्ता गराएका छन् ।
दर्ता भएका मुद्दाको तथ्यांक अनुसार मकवानपुर जिल्ला अदालतमा सरदरमा दैनिक ४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको छ । गत आवमा अदालतको कार्य दिन २६५ रहेको थियो । जिल्ला अदालत मकवानपुरमा गत आवमा ४ हजार १ सय ६३ मुद्दा दर्ता भएका थिए ।
तीमध्ये २५ दशमलव १५ प्रतिशत सम्वन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो आव ०८०/०८१ मा ३ हजार ८ सय ७१ मुद्दा दर्ता भएका थिए । तीमध्ये २१ दशमलव ४६ प्रतिशत अर्थात ८ सय ७ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।
अदालतकी स्रेस्तेदार भण्डारीका अनुसार अघिल्लो आवको भन्दा गत आवमा सम्बन्धविच्छेदका २ सय ४० थान मुद्दा बढी दर्ता भएका छन ।
चालु आवको साउन महिनाको १३ गते गतेसम्म सम्बन्धविच्छेदका ३३ वटा मुद्दा दर्ता भइसकेको अदालतले जनाएको छ । सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिलाहरु पति एवं घर परिवारको हिंसा सहन नसकेर अदालतको ढोका ढकढक्याउन आउने गरेका छन् ।
स्रेस्तेदार भण्डारीका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । २१/२२ वर्षका युवतीहरु २/३ वटा वच्चा लिएर सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेका छन् । उनीहरुको विवाह १५/१६ वर्षको उमेरमा भएको देखिन्छ ।
उनले भनिन्, ‘सम्बन्धविच्छेदका लागि अदालतमा दर्ता भएका यस्ता मुद्दा प्रसस्तै छन् ।’ किशोर/किशोरी,युवायुवतीमात्र नभइ जिल्ला अदालत मकवानपुरका ६८ वर्षीया वृद्धा ६९ वर्षको वृद्धको जोडी सम्बन्धविच्छेदका लागि गत आवमा अदालतमा मुद्दा दर्ता गराएका थिए । ६० वर्ष माथिका एक दर्जन भन्दाबढी वृद्धवृद्धाहरु सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको तथ्यांक रहेको छ ।
‘मुलुकमा नयाँसंहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ । जसले गर्दा सम्बन्धविच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको हो,’ अधिवक्ता मदन दाहालले भने, ‘अदालतमा दर्ता भएका मुद्दामध्ये २५ प्रतिशत भन्दाबढी मुद्दा सम्बन्धविच्छेदको हुने गरेको छ ।’
महिलासरह पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएको छ । नयाँ संहिता लागूपछि मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढक्याउने पुरुषको संख्या पनि बढेको छ ।
‘महिलाले सम्बन्धविच्छेदको निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमती हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार भण्डारीले भनिन्,‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लाग्ने गरेको छ ।’
मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तिमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पतिपत्नीबीच सम्बन्धविच्छेद नहोस मिलेर बसुन भन्ने उद्देश्यले एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।
