नक्कली कागजात बनाउने दुई जना पक्राउ

प्रहरीले धुलिखेल वडा कार्यालयमा शंकास्पद कागजात भेटेपछि नक्कली कागजात बनाउने गिरोहको पर्दाफास भएको छ।

श्रावण १४, २०८२

ज्योती श्रेष्ठ

Two arrested for forging documents

काभ्रे — किर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सहिद लखन गाउँपालिका-१ का ४१ वर्षीय किरण अर्याल र काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङ छन् । 

अर्यालले काठमाडौँ महानगरपालिका-३१, शंखमुलमा गज्जबको फोटो कपी एन्ड स्टेसनरी सेन्टरमार्फत किर्ते गरी नक्कली कागजात बनाउने गरेको र ती कागजात तामाङले बिक्री वितरण गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार धुलिखेल नगरपालिका-१२को वडा कार्यालयमा तामाङले पेस गरेको कागजातमा शंकास्पद देखिएपछि कार्यालयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा नक्कली कागजात भएको पुष्टि भएको उनले जनाए । 


उनीहरुले धुलिखेल-१२ को वडा कार्यालयको लेटर प्याड, छाप तथा वडाध्यक्षको सहीसमेत किर्ते गरी नक्कली बनाएको पाइएको छ । उनीहरूको साथबाट विभिन्न २६ वटा संस्थाको छाप, कागजात, विभिन्न दरको नेपाली नगद ६८ हजार ७७० रुपैयाँ, विभिन्न मुलुकका १४ वटा नोट, २ वटा नागरिकता, राहदानी, पेन ड्राइभ ११ वटा, २ वटा हार्ड ड्राइभलगायत सामग्रीसमेत बरामद गरिएको छ । 


सोमबार पक्राउ परेका उनीहरुलाई लिखतसम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully