चितवन निकुञ्जभित्र गस्तीका सैनिक र जंगली हात्तीको जम्काभेट, एक सैनिक घाइते, हात्ती भगाउन हवाई फायर

निकुञ्जको पूर्वी क्षेत्र कछुवानीबाट मंगलबार साँझ पैदल गस्तीमा गएर जंगलमा मचानमा बसेका र आज बुधबार बिहान फर्कन लागेका टोलीसँग हात्तीको जम्काभेट भएको हो।

श्रावण १४, २०८२

रमेशकुमार पौडेल

Encounter between patrolling soldiers and wild elephants inside Chitwan Park, one soldier injured, aerial fire to drive away the elephants

चितवन — चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा रहेका नेपाली सेनाको टोली र जंगली हात्तीबीच जम्काभेट भएको छ। बुधबार बिहान भएको सो घटनामा एक जना सैनिक घाइते भएका छन्।

उनको हात र ढाडमा सामान्य चोट देखिए पनि भित्री चोट नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।

निकुञ्जको पूर्वी क्षेत्र कछुवानीबाट मंगलबार साँझ पैदल गस्तीमा गएर जंगलमा मचानमा बसेका र आज बुधबार बिहान फर्कन लागेका टोलीसँग हात्तीको जम्काभेट भएको हो। कछुवानीदेखि डेढ किलोमिटर पूर्वतर्फ बिहान ७ बजेर १० मिनेट जाँदा उक्त घटना भएको थियो।

गस्तीमा चार जना सैनिक थिए। हात्तीले सुँढले एक जना सैनिक हवलदारलाई धकेलेको थियो। हात्ती धपाउन तीन राउन्ड हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकारी थापा मगरले बताए।

निकुञ्जको पूर्वी क्षेत्रमा डुल्ने ‘गोविन्दे’ नामको जंगली हात्तीसँग गस्ती टोलीको अचानक भेट भएको हो।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully