बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन 

मतविभाजनमा मुख्यमन्त्री लामाका पक्षमा १५ जना मात्र देखिएका छन् । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन् ।

श्रावण १४, २०८२

सुवास विडारी

Elections today to choose the leader of the Congress parliamentary party in Bagmati province

What you should know

मकवानपुर — बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा कांग्रेसका ३७ सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । 

कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् । निर्वाचन समितिले बुधबार बिहान ८ बजे मतदाता नमावली प्रकाशन र दिउँसो २ बजेदेखि मतदानको समय तोकेको छ ।

मतविभाजनमा मुख्यमन्त्री लामाका पक्षमा १५ जना मात्र देखिएका छन् । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेहरू कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ पक्षधर हुन् । यसअघि १३ पुस २०७९ मा भएको दल नेताको निर्वाचनमा भने लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।

बानियाँकै नेतृत्वमा दर्ता लामाविरुद्ध यस पटक अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसका पाँच मन्त्रीले राजीनामासमेत दिएका थिए । ९ साउनमा चार मन्त्रीले राजीनामा दिएकामा मंगलबार मात्रै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा बुझाएका थिए । यसअघि राजीनामा बुझाएका चार मन्त्रीलाई भने मुख्यमन्त्री लामाले पदमुक्त गरेका थिए । 

लामाले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट हटाउनुपर्ने कुनै कारण छैन ।’ 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully