पानी तान्ने मोटरमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर मृत्यु

भरतपुर-१८ का वडाध्यक्ष बाबुराम राना मगरले रोपीसकेको धानखेतमा सिंचाइका लागि पानी चलाएको मोटर पम्प जलेको देखेपछि निभाउन खोज्दा उक्त घटना भएको बताए ।

श्रावण १३, २०८२

रमेशकुमार पौडेल

Death due to electrocution while fighting a fire in a water-pumping motor

चितवन — सिंचाइका लागि पानी तान्ने मोटर पम्पमा आगलागी भएपछि त्यसलाई निभाउन खोज्दा करेन्ट लागेका चितवन गुञ्जनगरका एकजनाको निधन भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१८ गुञ्जनगरका ५० वर्षीय शेरबहादुर थापा रहेका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले स्थानीय जुना नेपालीको बारीमा पानी तान्ने पम्ममा आगलागी भएको जानकारी दिए । दिउँसो साढे ३ बजेतिर भएको घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालका चिकित्सकले दिउँसो ४ बजे थापालाई मृत घोषणा गरेको डीएसपी खनालले बताए । 

भरतपुर-१८ का वडाध्यक्ष बाबुराम राना मगरले रोपीसकेको धानखेतमा सिंचाइका लागि पानी चलाएको मोटर पम्प जलेको देखेपछि निभाउन खोज्दा उक्त घटना भएको बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully