रणजोर खोलाको बाढीले मकै भाँच्न दिएन, बगर बनेपछि धान रोप्न पाएनन्

लेदोसहितको बाढीले मन्थलीका ५० भन्दा बढी परिवारको उर्वर भूमि बगर बनाइदिएपछि स्थानीय चिन्तामा

श्रावण १२, २०८२

केदार शिवाकोटी

The flood of Ranjor river did not allow the corn to be broken, and after it became a bog, they could not plant rice

What you should know

दोलखा — मकै भाँचेर धान रोप्ने सुरसारमा थिए मन्थली नगरपालिका–१ मन्थलीघाटका शेरबहादुर थापा । उनले खेतको मकै भाँच्न पाएनन् । गएको असार अन्तिममा रणजोर खोलाको बाढीले उनको खेत बगरमा परिणत गर्‍यो । धान रोप्न ठिक्क पारेको ब्याड पनि बगर बन्यो । 

गएको असार मसान्तमा परेको वर्षाले रणजोर खोलामा आएको लेदोसहितको बाढीले ५० भन्दा बढी परिवारको झन्डै ५ सय रोपनी उर्वर खेत बगरमा परिणत भएको छ । वर्षभरि खान पुग्ने खेत बगर बनेपछि मन्थलीका किसान चिन्तामा छन् । बाढीका कारण आधा दर्जन घरमा क्षति गरेको थियो । क्षति गरेका घरहरु जोखिममा परेपछि स्थानीयले घरसमेत छाडेका छन् ।

अजङको पहिरो भएको घ्याप्चेको शिर भएर बग्ने रणजोर खोलाको बाढीले खेतलाई बगरमा परिणत गरेपछि किसानले यो वर्ष रोपाई गर्न पाएनन् । ‘मकै भाँचेर धान रोप्ने सुरसार गरेर बिउको ब्याड पनि राखेको थिए,’उनले भने, ‘तर एक रातमै पाकेको मकैसहित ब्याड राखेको खेत बाढीले बगर बनाइदियो, वर्षभरि खाने खेत बगर बनेको टुलुटुलु हर्नु बाहेक विकल्प भएन ।’ 

हरेक वर्ष रणजोर खोलाको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गर्ने क्रम नरोकिएको उनले बताए । ‘मन्थलीकै सबैभन्दा उर्वर भूमि हो यो तर खोलाको बाढी रोक्न कतैबाट प्रयास भएन,’ उनले भने,‘तटबन्ध लगाए जस्तो गर्छन्, त्यो पनि आँखामा छारो हाल्न ।’ रणजोर खोलाको लेदोसहितको बाढीले धेरैको उठिबास लगाइसकेको स्थानीय बखत बहादुर थापाले बताए । यो वर्ष खोलाको बाढीले मकैबालीसहित खेत पनि बगरमा बनाइदिएको उनले बताए ।

The flood of Ranjor river did not allow the corn to be broken, and after it became a bog, they could not plant rice

‘वर्षभरि खान पुग्ने खेत खोलाले बगर बनाएर सुकुम्बासी बनाइदियो,’ उनले भने, ‘खोला रोक्ने कुनै योजना ल्याएका छैनन्, घ्याप्चेको शिरदेखि लेदार ढुंगा ल्याएर दलदल बनाइदियो खेत ।’ रोपनीमा ८ मुरीसम्म धान फल्ने गरेको खेत बगर बनेको उनले बताए । गत वर्ष असोजको बाढीले धानसहित खेत बगाएपछि पुनः स्थानीयले बिराएर मकैबाली लगाएका थिए ।

गत वर्ष धान भित्र्याउन पाएनन् भने यो वर्ष मकै । बाली भित्र्याउन नपाई रणजोर खोलाले बगाउने गरेको स्थानीय पूर्णबहादुर थापाले बताए । ‘गएको असारमा पाक्न लागेको धान बाढीले बगायो भोकभोकै पर्‍यौं,’ उनले भने ‘जेनतेन गरेर बगरलाई पुनः खेत बनायौं, यो वर्ष धान रोप्नै पाएनौं, मकै भाँच्न पनि पाएनौं ।’ कहिले तामाकोशीले कहिले रणजोरले खेत बगाएर दुःख दिइरहेको उनले बताए ।

बाढीले खेतमै भएका कृषि औजारसमेत बगाएको उनले बताए । ‘खोलामा चाँहिदो ठाउँमा तटबन्ध बनाउँदैनन्, बनाइहाले गुणस्तरहीन,’ उनले भने, ‘कतिपल्ट राम्रो तटबन्ध बनाउन भनेर भन्यौं सुनुवाइ भएन, सामान्य बाढीले बगाउने कस्तो तटबन्ध बनाएका हुन् ?’ भएको खेत बगर बनेपछि कहाँ खेती गर्ने कसरी पेट पाल्ने भन्ने चिन्ता भएको उनले बताए ।

रणजोर खोलाको वारिपारि १ सय २० परिवारको बसोबास थियो । खोला घरमै छिरेर जोखिम बनेपछि कतिपय सदरमुकाममा कोठा लिएर बसिरहेको उनले बताए । ‘रणजोर खोलामा माथिको पहिरोको लेदोसहितको बाढी आउँछ, ठूल्ठूला ढुंगा लिएर आउँछ, अनियन्त्रित भएर वस्तिमै नोक्सानी गर्छ,’ उनले भने, ‘यही खोलाले वर्षौँदेखि दुःख दिएको दिएको दियै छ, कतैबाट रोकथाम र सुरक्षित बनाउन प्रयास भएको छैन ।’

रणजोर खोलाले स्थानीयको वर्षौँदेखि एक हजार रोपनी भन्दा बढी उर्वर खेत बगर बनाएको उनले बताए । ‘अलि राम्रो खेती हुने खेत यही थियो यो पनि रणजोरले बगर बनायो,’ उनले भने, ‘पोहोर तर बाढी पसेर पाकेको धान बगाए पनि खेत बिराएर बनाएका थियौं, अब त यो पनि सम्भव भएन ।’ रणजोर खोलामा भरपर्दो तटबन्ध नबनाउने हो भने अलिअलि बाँकी खेत पनि बगर बन्ने उनले बताए । रणजोर खोलाले खेत बगर बनाएपछि कतिपयले घरबास छाडेर अन्यत्र गइसकेको उनले बताए । अलिअलि बाँकी भएका मात्रै गाउँतिरै भएको उनले बताए ।

केदार

Link copied successfully