What you should know
भरतपुर — गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको देवघाटमा गुरूङ संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
शनिबार निधन भएका गुरूङलाई गुरूङ समुदायको परम्परा एवं संस्कृतिअनुसार धर्मगुरूहरुबाट अन्तिम संस्कारको लागि कर्म गरिसकेपछि सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो । त्यसअघि उनको निवास भरतपुर–२६ दिव्यनगरमा कांग्रेसले पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरेको थियो । गुरूङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ चितवन आएका थिए । गुरुङको निधनले कांग्रेसलाई मात्र नभई देशलाई क्षति पुगेको उनले बताए ।
पार्टी कार्यालय कमलनगरमा गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरिएपछि उनको देवघाटमा अन्त्येष्टि गरिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरूङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षको उमेरमा निधन भएको हो । कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरूङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थिए ।
राजनीतिक जीवनको उत्तरार्धमा गुरुङले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेका थिए । प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए ।
यसैबीच गुरूङको निधन भएको दुःखद् घडीमा नेपाली कांग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीनदिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए ।
