हेटौंडा — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारस्थित आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार महिला घाइते भएकी छन् ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चितवन भरतपुर महानगरपालिका–११ का ५१ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका क्षेत्रीको उपचारको क्रममा हेटौंडामा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुरकी ३६ वर्षीया नरमाया गुरुङको अवस्था गम्भीर रहेको छ । उनको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ । उनलाई पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक सप्तरीको बोर्डरबास नगरपालिका–२ का ३५ वर्षीय अशोक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
