अयोध्यापुरीमा २७ वर्षमा वन्यजन्तुको आक्रमणबाट ३२ जनाको मृत्यु
चितवन — वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाएकाको सम्झना र सम्मानमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समितिले स्मारक निर्माण गरेको छ ।
मध्यवर्ती गठन भएयता हालसम्म २७ वर्षको अवधिमा अयोध्यापुरीका ३२ जनाले वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाएका छन् । तत्कालीन अयोध्यापुरी गाविस र हाल माडी नगरपालिकाको वडा नम्बर ७ को आंशिक तथा ८ र ९ वडाका पूरै भागका २२ सय घरधुरी अयोध्यापुरी उपभोक्ता समितिमा समेटिएको छ ।
आइतबार बागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले स्मारकको उद्घाटन गरे । सो अवसरमा उनले वन्यजन्तुका कारण ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्यलाई नगदसहित सम्मान पनि गरे ।
अयोध्यापुरीमा २०५५ साल फागुनयता हालसम्म सबैभन्दा धेरै बाघले आक्रमण गरी १७ जनाको ज्यान लिएको छ । जंगली हात्तीले ९ जना, भालु र गैंडाले दुई–दुईजना र बँदेलले एक जनाको ज्यान लिएको छ । वन्यजन्तु गाउँ आउनबाट रोक्न लगाएको विद्युतीय तारबारमा परेर पनि एकजना व्यक्तिको यो अवधिमा मृत्यु भएको उपभोक्ता समिति अध्यक्ष शिवजी गायकले जानकारी दिए ।
