मकवानपुरमा लागूऔषधसम्बन्धी मुद्दा बर्सेनि बढ्दो

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार अघिल्लो आव अर्थात् ०८०/०८१ मा लागूऔषधका १५८ वटा मुद्दा दर्ता भएका थिए भने २४९ जना पक्राउ परेका थिए।

श्रावण १०, २०८२

प्रताप विष्ट

Drug-related cases are increasing year by year in Makwanpur

What you should know

हेटौँडा — मकवानपुरमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी आपराधिक घटनाका मुद्दा दर्ता हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता हुने र पक्राउ पर्ने क्रममा लागूऔषधसम्बन्धी आपराधिक घटना बर्सेनि बढ्दो क्रममा छ।

मकवानपुरमा गत आर्थिक वर्ष (आव) ०८१/०८२ मा लागूऔषधका १८८ वटा मुद्दा दर्ता भएका छन् भने स्वदेशी र विदेशी गरी २८९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार अघिल्लो आव अर्थात् ०८०/०८१ मा लागूऔषधका १५८ वटा मुद्दा दर्ता भएका थिए भने २४९ जना पक्राउ परेका थिए। आव ०८१/०८२ मा ६ हजार ४ केजी गाँजा बरामद गरिएको थियो भने अघिल्लो आवमा ३ हजार ९३१ केजी गाँजा प्रहरीले बरामद गरेको थियो।

त्यसै गरी आव ०८१/०८२ मा २६ किलोग्राम अफिम र ५१ किलोग्राम चरेस बरामद गरिएको छ। प्रहरीले खैरो हेरोइन ४७६ ग्राम, नाइट्राभेट ९५ हजार २७१ ट्याब्लेट, डाइजेपाम २७५७ एम्पुल, कोरेक्स ६२८ बोतल नियन्त्रणमा लिएको थियो। लागूऔषध ओसारपसारमा प्रयोग गरिएका ५५ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्लामा भएका सबै प्रकारका आपराधिक घटनामध्ये प्रमुख चुनौतीको रूपमा लागूऔषधसम्बन्धी मुद्दा रहेकाले यसको नियन्त्रण पेचिलो बन्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए।

जिल्लाको पश्चिमी क्षेत्रमा हुने गाँजा तथा अफिम खेती नियन्त्रण गर्न नसकेको अवस्थामा भारतबाट भित्रिने खैरो हेरोइनलगायत अन्य लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको प्रहरी बताउँछन् ।

उनले भने, 'लागूऔषध उत्पादन, ओसारपसार, प्रयोग तथा बिक्री–वितरणको नियन्त्रणमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीमाथि नै हतियार प्रयोग र भौतिक आक्रमण गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। लागूऔषधकै कारण अवैध हातहतियार पनि प्रयोगमा आउने गरेको छ।'

मकवानपुरमा मौलाउँदै गएको अफिम र गाँजा खेती नियन्त्रणका लागि स्थानीय प्रशासनले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। तर स्थानीय जनप्रतिनिधिहरू लागूऔषध खेतीको नियन्त्रण गर्नेतर्फ उदासीन देखिएकाले यो समस्या पेचिलो बन्दै गएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक अधिकृतले बताए। उनले भने, ‘स्थानीय जनप्रतिनिधिको भूमिका लागूऔषध नियन्त्रण गर्ने तर्फ भएन भने प्रहरी प्रशासनले मात्र नियन्त्रण गर्न सक्दैन।’

मकवानपुरको मुख्य गरी कैलाश र राक्सिराङ गाउँपालिकामा अफिम र गाँजा खेती हुने गरेको छ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully