३० जना प्राविधिक र कामदारको सहयोगमा बनिरहेको बेलिब्रिजमा यातायात सञ्चालनको तयारी
हेटौंडा — कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनि सिमखोलामा क्षतिग्रस्त पुलमाथि 'बेलिब्रिज' जडान कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले पुल क्षतिग्रस्त बनेको थियो ।
पुलमाथि वारपार बेलिब्रिज जडान कार्य सकिए पनि ‘डेक प्लेट’हाल्ने काम धमाधम भइरहेको छ । ‘२-३ दिनभित्र जडान सकिन्छ,’ इन्जिनियर दीपेन्द्र यादवले भने, ‘साउन १५ देखि यही पुल भएर सवारीसाधन आउजाउ गर्न सक्छन् ।’
यहाँ असार २८ देखि जडान कार्य सुरु भएको हो । बेलिब्रिज जडानका लागि भैंसे-भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेका दुईवटा बेलिब्रिज झिकेर ल्याइएको थियो ।
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले ३० जना प्राविधिक र कामदार खटिरहेको बताए । पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।
