सिन्धुपाल्चोक — भोटेकोशी गाँउपालिका-२ स्थित तातोपानी नाका हुँदै कैलाश मानसरोवर हिँडेका एक भारतीय तीर्थयात्रीको शुक्रबार मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार भारत गुजरात निवासी ५७ वर्षीय टंक किरीटभाई चुनिलालको उपचारका क्रममा मृत्यु भएको हो । उनी मानसरोवर यात्रा समूहमा सहभागी थिए र नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल पार गर्ने क्रममा अचानक बेहोस भएका थिए । 'बेहोस भएपछि उनलाई तत्काल प्राथमिक उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो, उनको पोस्टमार्टम लागि टिचिङ हस्पिटल लगिएको छ,' जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भने ।
अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बाह्रबिसे नगरपालिका–५ स्थित नगर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार त्यहीँका चिकित्सकले मृत घोषित गरेका थिए ।
तातोपानी नाका हुँदै हालैदेखि मानसरोवर जान भारतीय तीर्थयात्रीको आवागमन बढ्दो छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यात्रुहरूको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उच्च क्षेत्रमा यात्रा गर्नेहरूका लागि पूर्व तयारी र स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने स्थानीयले माग गरेका छन् ।
