चितवन — भारतीय ट्रकबाट चितवन प्रहरीले ६७१ किलाे ६ सय ग्राम गाँजा नियन्त्रणमा लिएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार सम्मेलन गरेर राप्ती नगरपालिका-१ लाेथर पुल नजिकबाट यूपी ८२ टी ३९२१ नम्बरकाे भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेकाे जानकारी दिएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गाेविन्द पुरीले काठमाडाैं समान पुर्याएर वीरगन्ज फर्कदै गरेकाे ट्रकमा गाँजा भेटिएकाे बताए । चालककाे क्याबिनकाे माथिल्लाे भागमा फल्स बटन बनाई ४३ वटा पाेका बनाएर गाँजा राखिएकाे थियाे ।
शनिबार बिहान ४ बजेतिर प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएकाे हो । ट्रक चालक भारत पुर्वी चम्पारण तुर्कालियाका ३७ वर्षीय शेख सविल अख्तरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
