पिकअपले ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु

श्रावण ९, २०८२

रमेशकुमार पौडेल

A motorcyclist died after being hit by a pickup truck

चितवन — पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे चितवन रत्ननगर नगरपालिका-३ शान्तिचाेकमा गएराति सामान बाेक्ने पिकअप गाडीले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएकाे छ। दुर्घटनामा परी कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेलकाे ज्यान गएको हो।

मध्यराति साढे १२ बजे तिर खैरहनीबाट टाँडीतर्फ आउँदै गरेकाे प्रदेश २-०२-००१ च ०५१० नम्बरकाे पिकअप गाडीले ठक्कर बा प्र ०६-००१ प ३५०९ नम्बरकाे माेटर साइकललाई ठक्कर दिएको थियो।

कँडेलले चलाएकाे माेटरसाइकल टाँडीबाट खैरहनीतर्फ जाँदै थियाे । पिकअप गाडीले जनकपुरबाट काठमाडाैं जाने बा प्र ०३-००१ ख ३३६५ नम्बरकाे रात्रि बसलाई उछिन्न (ओभर टेक गर्न) खाेज्दा माेटरसाइकलसँग ठाेक्किएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए।

ठक्करका कारण गम्भीर घाइते भएका माेटरसाइकल चालक कँडेललाई एम्बुलेन्समा राखेर उपचारका लागि भरतपुरकाे सरकारी अस्पतालमा भर्ना गरेकाे डीएसपी खनालले बताए । अस्पतालका चिकित्सकले  राति एक बजेर १९ मिनेट जाँदा कँडेललाई मृत घाेषणा गरेकाे डीएसपी खनालकाे भनाइ छ ।

ठक्कर दिने पिकअप गाडीका चालक कास्कीको लेखनाथका ३० वर्षीय  हुमेस लामगादे र गाडीधनी कास्कीकै माछापुच्छ्रे गाउँपालिका-३ का ३४ वर्षीय ध्रुवराज पाेखरेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा राखिएकाे छ।

उनीहरू सामान्य घाइतेसमेत छन् । ठक्करका कारण रात्री बसकाे चालकतर्फकाे शिसा पनि फुटेकाे छ । अन्य केही नभएका कारण बसलाई गन्तव्यतर्फ नै पठाइएकाे डीएसपी खनालले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully