What you should know
हेटौंडा — जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ मा १८३ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ परेका ती व्यक्तिबाट ९९ वर्ष ११ महिना २३ दिन कैद भुक्तान हुने छ भने १ करोड २१ लाख ७३ हजार ८ सय ५ रुपैयाँ जरिवाना संकलन हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका अभियुक्तमध्ये १ सय ६० पुरुष र २३ जना महिला रहेका छन् । जिल्ला प्रहरीको तथ्यांकअनुसार पक्राउ परेमध्ये सबैभन्दा धेरै लागुऔषधका फरार अभियुक्त र चेक अनादर रहेका छन् । मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेका तर फरार रहेका स्वदेशी तथा विदेशी गरी ४ हजार ८ सय ७२ जना छन् । जिल्ला अदालतका अनुसार तीमध्ये विदेशी नागरिक ९७ जना छन् भने ४ हजार ७ सय ७९ जना नेपाली छन् ।
मकवानपुर जिल्ला अदालतमा १९८३ सालदेखि अभिलेख रहेको छ भने बक्यौता पनि त्यही अवधिदेखिको रहेको छ । जिल्ला अदालतको आदेशअनुसारको दण्ड जरिवाना संकलन नहुँदा मकवानपुर जिल्ला अदालतको बक्यौता रकम ४ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अदालतबाट दण्डबापत कैद बस्नुपर्ने अपराधी कैदमा नबस्दा अदालतको कैद लगत बर्सेनि बढ्दै हाल ३ हजार ९ सय ११ वर्ष १ महिना २१ दिन पुगेको छ । कैद पनि गत आवको भन्दा २ सय ५ वर्षले बक्यौता बढेको छ ।
‘कैद भुक्तान ठहर गरिएका र दण्ड जरिवाना तिर्न फैसला भएका अपराधीहरू लुकीछिपी हिँडिरहेका छन्,’ अधिवक्ता ईश्वर ढकालले भने, ‘अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ, वादी–प्रतिवादीले अदालतको फैसलाको अनुभूति गर्न पाउनु पर्छ, अनि मात्र अदालतको फैसलाको महत्व रहन्छ ।’
कैद र जरिवाना लगत घट्यो भने अदालतको कार्यान्वयन पक्ष सक्षम देखिने र बढ्यो भने कार्यान्वयन पक्ष कमजोर देखिने उनले बताए । अदालतको आदेशको कार्यान्वयनमै फैसलाको औचित्य रहने दाबी कानुन व्यवसायीहरुको छ ।
अघिल्लो आवमा प्रहरीले ९५ जनामात्र फरार अभियुक्त पक्राउ गरेको थियो ।
