गगन थापासँग साहारा सहकारीका पीडित बचतकर्ताको भेट, रकम फिर्ताका लागि पहल गर्न अनुरोध

श्रावण ७, २०८२

रमेशकुमार पौडेल

Meeting with Gagan Thapa of victim savers of Sahara Cooperative, request to take initiative for refund

What you should know

चितवन — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापासँग साहारा चितवन बहुद्देश्यीय सहरकारी संस्थाका पीडित बचतकर्ताहरुले भेट गरेका छन् ।

बीपी स्मृति दिवस मनाउन चितवन आएका नेता थापासँग साहाराका बचतकर्ताहरुले मंगलबार साँझ नारायणगढमा उद्योग वाणिज्य संघमा भेटेर रकम फिर्ता हुने वातावरण तयार गर्नका लागि अनुरोध गरे । 

उनीहरुले संस्थापक जितेन्द्रबाबु (जिबी) राईसहित फरार प्रतिवादीलाई तत्काल समाउन पनि माग गरेका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी बचत पीडित परिवारका तर्फबाट शालिकराम दुवाडी लगायतले महामन्त्री तथा सांसद थापासँग भेटेर समस्या सुनाएका हुन् । 

उनीहरुले सहकारीबाट ऋण लगेका ऋणीहरु पैसा फिर्ता गर्न तयार भए पनि कहाँ बुझाउने, कस्लाई बुझाउने भन्ने अन्योल रहेको हुँदा ऋण असुल हुन नसकेको बताए । स्थानीय बजारमा मात्रै करिब पाँच करोड रुपैयाँ यस्तो ऋण रकम रहेको दुवाडीले बताए ।

‘स्थानीय बजारमा रहेको पाँच करोड रुपैयाँ बराबरको ऋण रकम सरकारले विधि निर्माण गरे उठ्न सक्छ । त्यसैगरी अदालतसम्म पुगेका केही प्रतिवादीले जीबीबाट आफूले लगेको रकम तिर्छु भनेका छन् । रकम फिर्ता हुने वातावरण बने बचतकर्तालाई पनि फिर्ता दिन सकिन्छ,’ नेता थापासँगको वार्तामा दुवाडीले उपाए दिए । त्यसैगरी जीबी राईसहित सञ्चालकका धेरै कम्पनीका स्थीर सम्पत्ति र खाता रोक्का भएको पनि उनले बताए ।

‘फाष्ट ट्रयाकबाट मुद्दा टुङ्ग्याएमा ठूलो राहत हुने छ । अलि प्रयत्न गरेमा साहारा सहकारीका बचतकर्ताहरुले रकम फिर्ता पाउने देखिन्छ’ दुवाडीले भने । ऋणी र रकम तिर्छु भन्ने प्रतिवादीहरुलाई रकम तिर्ने विधि र ठाउँ बनाउन आनाकानी हुने गरेको उनले गुनासो पोखे । सहकारीलाई संकटग्रस्त घोषणा गर्न पनि वागमती प्रदेशको सहकारी मन्त्रालयले आनाकानी गरेको दुवाडीले बताए ।

त्यसैगरी सहकारी प्राधिकरणमा कागजपत्र र निवेदन बुझाउन जाँदा लिन आनाकानी गरेको उनले बताए । ‘किन दर्ता नगरेको भनेर सोध्दा जीबी, रवि र छवि जोडिएको हुँदा हामीले पनि माथि सोध्नु पर्छ भन्छन् । यो विषय के हो ? किन संकटग्रस्त घोषणा गरिएन? किन हाम्रो निवेदन दिइँदैन ? यस विषयमा हजुरले आवश्यक पहल गरी हामी सहकारी पीडितको समस्यालाई समाधान गर्न सहजीकरण गर्नुहोस्’ दुवाडीले अनुरोध गरे ।

पैसा सहकारीमा बसेको र पीडितहरुले औषधि उपचार पनि पाउन गाह्रो हुँदै गएको हुँदा यो विषय छिट्टै टुङ्ग्याए मात्रै पीडितप्रति न्याय हुने उनले कुरा राखेका थिए । ‘म यो विषयमा प्राधिकरणका पदाधीकारीहरुसँग कुरा राख्नेछु । बचत फिर्ता नपाएर पीडित बनेकाहरुलाई कसरी राहत हुन्छ, त्यो अनुसारको काम गर्न म पहल गर्ने छु,’ पीडित बचतकर्ताहरुको गुनासो सुनेपछि नेता थापाले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully