चितवन — दिवङ्गत संरक्षणकर्मी वेदकुमार खड्काको सम्मानमा हात्तीको बच्चाको नामकरण गरिएको छ। चितवन खोरसोरको सरकारी हात्ती प्रजनन केन्द्रमा असार २८ गते जन्मेको भाले छावाको बुधबार नामकरण गरिएको हो।
न्वारन गरेर नाम राख्ने परम्परा अनुरूप उक्त भाले छावाको नाम ‘वेदगज’ राखिने घोषणा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गरे।
खड्का चितवन राष्ट्रिय निकुञ्जमा लामो समय संरक्षण अधिकृत भएर काम गरी अवकाश पाएका व्यक्ति हुन्। उनी दुर्लभ जीव घडियाल गोही संरक्षणका लागि समर्पित थिए। खड्काको गत जेठमा निधन भएको थियो। संरक्षणकर्मी खड्काको सम्झना र सम्मानमा छावाको नामकरण गरिएको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।
बुधबार नामकरण गरिएको छावा ‘लोकतन्त्रकली’ नामक हात्तीको तेस्रो सन्तान हो। वि.सं. २०६३ सालको वैशाख ११ गते जन्मिएकै कारण सो हात्तीले ‘लोकतन्त्रकली’ नाम पाएको हो। ०६२/६३ को जनआन्दोलन सफल भई त्यसै दिन नेपालमा लोकतन्त्र पुनः स्थापना भएको थियो।
त्यसअघि हात्तीको छावाको नाम पनि दरबारबाटै राख्ने चलन थियो। ‘लोकतन्त्रकली’को नाम पहिलो पटक चितवन निकुञ्ज प्रशासनबाटै राखिएको थियो।
‘लोकतन्त्रकली’को पहिलो सन्तान ‘बुधगज’ र दोस्रो ‘स्वर्णकली’ हुन्। भाले हात्तीको नामको पछाडि ‘गज’ र पोथीको नामको पछाडि ‘कली’ राख्ने चलन छ।
