काभ्रेमा सुक्दै छन् २७ प्रतिशत पानीका स्रोत

१३ स्थानीय तहमध्ये ७ वटामा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो

श्रावण ६, २०८२

ज्योती श्रेष्ठ

27 percent water sources are drying up in Kavre

What you should know

काभ्रे — पछिल्लो समय काभ्रेका अधिकांश स्थानमा पानीको मुहान सुक्दै गएको छ । जिल्लाका १३ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।

बाढी, पहिरो, वन फँडानी, पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तन लगायतका कारण पानीका मुहान सुक्दै गएका छन् । पानीको मुल र मुहान सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढा–टाढा धाउनुपर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने, बसाइँसराइ लगायतका समस्या झेल्दै आएका छन् । 

यी समस्यालाई मध्यनजर गर्दै काभ्रेका ७ वटा स्थानीय तहले पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रको संरक्षण गर्न नीतिगत रुपमा छलफल गरेका छन् । काभ्रेको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा नीतिगत रुपमा छलफल गरेका हुन् । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन (इसिमोड) ले आयोजना गरेको खानीपानीको मूल र मुहानको मूलाधार तथा जलाधार संरक्षणसम्बन्धी दुई दिने कार्यशालामा उक्त विषयमा छलफल गरिएको हो । 

छलफलमा पानीको मुहानको अवस्था, मुहानमा देखिएको समस्या, मुहान सुक्दै जानुको कारण, समस्या समाधान गर्न गरिने नीतिगत पहलका विषयलाई प्राथमिकतामा राखिएको थियो । असोज दोस्रो साता आएको बाढी, पहिरोजस्ता विपदले खानेपानीको मुहानमा धेरै क्षति पुर्‍याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको जनप्रतिनिधिहरुले बताएका छन् । सोहीअनुरुप पालिकाले पनि नीति तथा कार्यक्रममा उक्त विषयलाई विशेष प्राथमिकतामा राखिएको उनीहरुले बताए । 

27 percent water sources are drying up in Kavre

काभ्रेको ७ वटा स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले ७ वटै स्थानीय तहमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो । २०२३ को नोभेम्बरदेखि जुन २०२४सम्म गरिएको सर्वेक्षण्मा काभ्रेको ७ वटा स्थानीय तहमा ५ हजार ६ सय ८९ कुल स्रोत मापन गरिएको छ । सर्वेक्षणमा ५ हजार १ सय ६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका छन् । ७ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण अनुसार २७ प्रतिशत अर्थात् १५ सय २१ स्रोतहरु सुक्खा भएको देखिएको छ । 

७ वटा स्थानीय तहमध्ये पाँचखाल नगरपालिकामा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा १ हजार ६७ कुल स्रोत मापन गरिएको छ । सर्वेक्षणमा ८३८ मूल तथा मुहानको संख्या र २२९ वटा पोखरीहरुको पहिचान भएको छ । सर्वेक्षणअनुसार ४० प्रतिशत स्रोतहरु सुक्खा भएको देखिएको छ । तेमाल गाउँपालिकाको तथ्यांक पनि उस्तै रहेको छ । तेमाल गाउँपालिकामा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा ७३६ स्रोतको मापन गरिएको थियो । जसमा ६६४ मुहान र ७२ पोखरीहरुको पहिचान भएको छ । जहाँ ४० प्रतिशत मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा गरिएको सर्वेक्षणमा ११ सय ७४ वटा स्रोतको मापन भएको छ । जहाँ १ हजार ६४ वटा मूलको संख्या र ११० वटा पोखरीहरुको पहिचान भएको छ । धुलिखेलमा २९ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको छ । 

27 percent water sources are drying up in Kavre

रोशी गाउँपालिकामा ९६९ वटा स्रोतको मापन भएको थियो । जहाँ९२३ मूल संख्या र ४६ वटा पोखरीको पहिचान भएको छ । त्यस्तै, रोशी गाउँपालिकामा २२ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

नमोबुद्ध नगरपालिकामा ४८० वटा स्रोतको मापन भएको थियो । जहाँ ४५० वटा मूल संख्या र ३० वटा पोखरीको पहिचान भएको छ भने २० प्रतिशत स्रोत सुक्खा देखिएको छ । बेथानचोक गाउँपालिकामा ३८५ वटा मूल तथा जलाधारको मापन गरिएको थियो । जहाँ ३७७ वटा मूल संख्या र ८ वटा पोखरीको पहिचान भएको छ ।

27 percent water sources are drying up in Kavre

पनौती नगरपालिकामा ८८० कुल स्रोत मापन गरिएको थियो भने ८५४ वटा मूल संख्या र २६ वटा पोखरीको पहिचान भएको  छ । जहाँ १० प्रतिशत मात्रै सुक्खा क्षेत्रको पहिचान भएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully