भरतपुर अस्पतालमा उपचार गराउन आउँछन् दैनिक १० देखि १२ सर्पदंशका बिरामी

श्रावण ५, २०८२

रासस

Every day 10 to 12 snakebite patients come to Bharatpur Hospital for treatment

What you should know

काठमाडौँ — यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढेको हो।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ। तीमध्ये पाँच जना विषालु सर्पले डसेका थिए। यस्तै, असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विषालु सर्पले डसेका बिरामी रहेका मियाँले जानकारी दिए।

यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), तनहुँ, गोरखा, लमजुङदेखि आउने गरेका छन्। अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षणअनुसार उपचार गरिने गरेको उनले बताए।

विषालु सर्प अन्तर्गत करैत, कोब्रा, गोमन, भाइपर लगायतका सर्पहरूले टोक्ने गर्दछन्। करैत, गोमन, कोब्रा सर्पले टोक्दा बिरामीको नशालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमै राखेर उपचार गरिँदै आएको छ। अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनले बताए ।

रासस

Link copied successfully