प्रेमिकाको हत्या अभियोगमा एक युवक पक्राउ

श्रावण ५, २०८२

ज्योती श्रेष्ठ

A young man was arrested for the murder of his girlfriend

What you should know

काभ्रे — काभ्रेपलाञ्चोकमा एक युवतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनार छन् । उनीमाथि आफ्नै प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेको आरोप लागेको छ ।

शर्मिलाको शव आइतबार दिउँसो बनेपा नगरपालिका–१३ स्थित भगवान थुम्की सामुदायिक जंगलमा भेटिएको थियो । चिलाउने रुखको फेदमा उनी कोल्टो अवस्थामा मृत भेटिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, शव फेला परेपछि प्रारम्भिक अनुसन्धान गर्न बनेपाबाट प्रहरी टोली र फरेन्सिक डाक्टरसहितको टोली घटनास्थलमा पुगेको थियो । शव ३३ वर्षीया शर्मिला उप्रेतीको भएको खुलेको छ । उनी काभ्रेको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भई हाल बनेपा–९ नयाँबस्ती बस्दै आएकी थिइन् । उनका बुबा कमल उप्रेतीले शवको पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार, शर्मिला असार ३२ गतेदेखि हराइरहेकी थिइन् । घटनालाई शंकास्पद मानेर अनुसन्धान गर्दा प्रेम सम्बन्धमा रहेका सन्तोषलाई हत्या घटनामा संलग्न भएको आशंकामा सोमबार राति साढे ११ बजे बनेपा–१० स्थित एक इँटाभट्टाबाट पक्राउ गरिएको हो ।

हाल सुनारलाई काभ्रे जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully