वर्षापछिको पहिरोले दोलखाको उत्तरी क्षेत्रका सडक अवरुद्ध

श्रावण ४, २०८२

केदार शिवाकोटी

The road blocked in the northern area of Dolakha due to landslides after the rains

What you should know

दोलखा — वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् ।

कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीले माछा फार्म र ३० भन्दा बढी परिवारका खेतसमेत बगाएको प्रहरीले जनाएको छ।

यस्तै, पहिरोले माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँधस्थल पुग्ने सिंगटी–लामाबगर सडकखण्ड अन्तर्गत विगु गाउँपालिका–१ सोल्टिमोडमा क्षति गरेपछि सो सडकखण्डमा पनि यातायात अवरुद्ध भएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी तथा त्यसका सहायक खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। आइतबार दिउँसो प्रशासनले तामाकोसी र त्यसका आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

दोलखाको माथिल्लो क्षेत्रमा अत्यधिक वा मध्यम वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

केदार शिवाकोटी

Link copied successfully