विद्यार्थी अभावमा बन्द भयो आधारभूत विद्यालय

गत वर्ष १८ जना भर्ना भएकामा यसपालि एक जना मात्र भर्नाका लागि आएका थिए

श्रावण ३, २०८२

प्रताप विष्ट

The basic school was closed due to lack of students

What you should know

हेटौंडा — विद्यार्थी अभावले मकवानपुरगढी गाउँपालिका–७ स्थित बागेश्वरी आधारभूत विद्यालय बन्द भएको छ । तीन कक्षासम्म पठनपाठन भइरहेको विद्यालयमा विद्यार्थी नभएका कारण बन्द भएको विद्यालयकी प्रधानाध्यापक विपना थिङले बताइन् ।

‘गत वर्ष १८ जना भर्ना भएका थिए,’ उनले भनिन्, ‘यस वर्ष विद्यालयमा एक जना विद्यार्थी मात्र भर्ना हुन आएकाले बन्द गर्नुपरेको हो ।’ विद्यालय नजिकै अन्य विद्यालय रहेको र टाढाका विद्यालयले पनि बसको सुविधा उपलब्ध गराएपछि विद्यालयमा विद्यार्थी भर्ना हुन नआएका हुन् ।

विद्यार्थी भर्ना नभएपछि विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा पठाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताए ।

गत वर्ष पनि मकवानपुरगढी–३ मा रहेका २ वटा विद्यालयमा विद्यार्थी संख्या तोकेअनुसार नभएका कारण डिग्रेड (कक्षा घटुवा) गरिएको थियो । १ देखि ५ कक्षासम्म पठनपाठन हुने कालीदेवी आधारभूत विद्यालय र १ देखि ८ कक्षासम्म पठनपाठन हुने सरस्वती आधारभूत विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण डिग्रेड गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले बताए । 

हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउापालिकामा बर्सेनि विद्यार्थी घट्दो अवस्थामा छन् । २०७९ सालमा पालिकाभरि ७ हजार ५ सय १४ जना विद्यार्थी रहेकामा २०८० सालमा ९ सय ३२ जना विद्यार्थी घटेर ६ हजार ५ सय ८२ जना भएका थिए ।

२०८१ सालमा एक हजार ५४ जना विद्यार्थी घटेर ५ हजार ४ सय २६ जना भर्ना भएका थिए भने यस शैक्षिक सत्रमा ५ हजार २९ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण जनसंख्या वृद्धिमा कमी हुनु, बढ्दो सहरीकरण, रोजगारीका लागि बाहिर जानु, पर्याप्त सेवा सुविधालगायत कारण रहेका छन् ।

पालिकाभित्र कक्षा ३ सम्म पठनपाठन हुने १५ वटा विद्यालय रहेका छन् । कक्षा ४ देखि माथिका कक्षासमेत सञ्चालन भएका १७ वटा विद्यालय रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully