What you should know
हेटौंडा — संघीयतापश्चात् सरकारी तथा निजी क्षेत्रको नेतृत्वमा महिलाको संख्या बढ्दो छ । राजनीति, शिक्षा एवं वित्तीय क्षेत्रसँगै न्याय सम्पादनमा पनि महिलाहरू नेतृत्वदायी भूमिकामा पुग्न थालेका छन् । महिलाले नेतृत्व गरेका न्यायालयमा कार्य–सम्पादन पनि सन्तोषजनक पाइएको छ । यसैका पछिल्ला उदाहरण हुन्, उच्च अदालत पाटन हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत ।
हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत महिला न्यायाधीशले हाँकिरेहका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा ५ जना महिला न्यायाधीश छन् । उनीहरूले दुई वर्षदेखि हेटौंडा इजलासलाई अब्बल साबित गरेका छन् । मकवानपुर जिल्ला अदालतमा पनि ४ महिला न्यायाधीशले न्याय सम्पादन गरिरहेका छन् । जुन न्याय सम्पादन उत्कृष्ट साबित भएको छ ।
हेटौंडा इजलासमा न्यायाधीशहरू यमुना भट्टराई, शकुन्तला घिमिरे, मीना गौतम सेढाईं, निर्मला पौडेल र सानुमाया डंगोल कार्यरत छन् । सात जना न्यायाधीशको दरबन्दी भए पनि ५ जनाले हेटौंडा इजलासलाई हाँकिरहेका छन् । केही समयअघिसम्म ६ जना महिला न्यायाधीश थिए । न्यायाधीश शान्ता सेढाईको एक महिनाअघि सरुवा भएपछि ५ जनामात्र कार्यरत छन् ।
उच्च अदालत पाटनले सुरुमा हेटौंडा इजलासमा न्यायाधीश यमुना भट्टराईलाई खटाएको थियो । पछि थप ४ जना न्यायाधीश पनि महिला नै पठाएको रजिस्ट्रार रामु शर्माले बताए । महिला भएकै कारण न्याय सम्पादनमा ढिलाइ वा अन्य समस्या भएको भन्ने गुनासो सुन्नु नपरेको बरु न्याय सम्पादनमा अगाडि रहेको उनले सुनाए ।
‘महिला न्यायाधीश मात्र भएको यो इजलासमा न्याय सम्पादनका क्षेत्रमा हामी निकै अगाडि छौं,’ रजिस्ट्रार शर्माले भने, ‘कुन इजलासमा कसलाई खटाउने भन्ने माथिकै निर्णयमा भर पर्छ । न्याय सम्पादन दुई वर्षदेखि सहज ढंगले अगाडि बढेको हेटौंडा इजलासका अधिकृतहरू बताउँछन् । भन्छन्, ‘मुद्दाहरूको न्याय सम्पादन समयमै भएको छ, मुद्दाको संख्या बढेसँगै फैसलाको दर पनि राम्रै छ ।’
मकवानपुर जिल्ला अदालत हाँकिरहेका महिला न्यायाधीशहरू ।
न्याय सम्पादन अझ निष्पक्ष र गम्भीरतापूर्वक हुने गरेको मकवानपुरका कानुन व्यवसायीको ठम्याइ छ । इजलासका न्यायाधीश मात्रै होइन, अदालतमा अन्य कर्मचारी पनि आधाभन्दा बढी महिला छन् ।
मुलुकभर रहेका ७ वटा उच्च अदालतका १८ वटा इजलास छन् । उच्च अदालत पाटनको हेटौंडा इजलासमा मात्रै सबै न्यायाधीशसहित महिला कर्मचारी मात्रै ३० जना छन् । ५ जना न्यायाधीशसहित ५३ जना कर्मचारी रहेको हेटौंडा इजलासमा २३ जनामात्र पुरुष कर्मचारी छन् । यसअघि यहाँ रजिस्ट्रार पनि महिला थिए ।
उच्च अदालत पाटन हेटौंडा इजलासले गत आर्थिक वर्षमा ७२ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । हेटौंडा इजलासमा ०८१/८२ मा जिम्मेवारी सरेर आएका सहित १ हजार ७ सय २७ थान मुद्दा दर्ता भएका थिए । दर्तामध्ये १ हजार २ सय ४७ थान मुद्दा फर्स्योट गरिएको थियो । यहाँ अघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय १९ मुद्दा रहेका थिए । तीमध्ये १ हजार २ सय ४५ मुद्दा फर्स्योट गरिएको थियो । चितवन र मकवानपुर कार्यक्षेत्र रहेको हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य छन् ।
मकवानपुर जिल्ला अदालतमा कार्यरत पनि चारै जना न्यायाधीश महिला छन् । न्यायाधीशहरू अवनी मैनाली भट्टराई, गीता श्रेष्ठ, शकुन्तला कार्की र पूर्णिमा कोइरालाले जिल्लाको इजलास सम्हालिरहेका छन् । जिल्ला अदालतका स्रेस्तेदार पनि महिला नै छन् । जिल्ला अदालतमा रोशी भण्डारी स्रेस्तेदार र बबिता बस्नेत तहसीलदार पदमा कार्यरत छन् ।
महिलाले संचालन गरेको अदालतको न्याय सम्पादनमा राम्रो प्रगति छ । ४ न्यायाधीशसहित कुल ६० जना कर्मचारी कार्यरत रहेको जिल्ला अदालतमा २६ महिला र ३४ पुरुष कर्मचारी छन् । ‘एकैपटक ४ जना महिला न्यायाधीशले जिल्ला अदालत हाँकेको पहिलो पटक हो,’ अदालतका सूचना अधिकारी केशवराज कौशिकले भने, ‘महिला न्यायाधीशले गरेको न्याय सम्पादनमा हालसम्म प्रश्न उठेको छैन ।’
महिला भएकै कारण न्याय सम्पादनमा ढिलाइ र चुनौती भएको महसुस गर्न नपरेको न्यायाधीश अवनी मैनाली भट्टराई बताउँछिन् । ‘न्यायाधीश कुनै लिंगको हुँदैन, न्याय सम्पादन गर्न महिला र पुरुषले केही फरक पार्दैन,’ उनले भनिन्, ‘महिला भएकै कारण भावुक हुने, महिलाको पक्षमै वकालत गरौं जस्तो कहिल्यै लाग्दैन । न्याय सम्पादन निष्पक्ष हुन्छ ।’
जिल्ला अदालत मकवानपुर ०८१/८२ मा करिब ७० प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा मुद्दा फर्स्योट करिब ११ प्रतिशत बढी हो । ०८१/८२ मा जिम्मेवारी सरेर आएका १ हजार ५ सय ९७ मुद्दा र नयाँ दर्ता २ हजार ५ सय ५३ सहित ४ हजार १ सय ५० थान मुद्दा जिल्ला अदालतमा रहेका थिए । तीमध्ये २ हजार ८ सय ६८ थान अर्थात् ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्योट भएको अदालतकी स्रेस्तेदार भण्डारीले बताइन् । जिल्ला अदालत मकवानपुरमा २ वर्ष नाघेका २ वटामात्र मुद्दा फर्स्योट हुन बाँकी छन् । ०८०/८१ मा २ वर्ष नाघेका मुद्दा २२ थान थिए ।
महिलाहरू सबै क्षेत्रमा नेतृत्व गर्न सक्षम छन् भन्ने उच्च अदालतको हेटौंडा इजलाश र मकवानपुर जिल्ला अदालतले थप प्रमाणित गरेको वरिष्ठ अधिवक्ता ईश्वर ढकाल बताउँछन् । ‘दुवै अदालतमा कामको रफ्तार राम्रो छ,’ उनले भने । विशेषतः लैंगिक, घरेलु हिंसा वा पारिवारिक मुद्दामा संलग्न महिलालाई महिला न्यायाधीशको उपस्थिति बढी सहज र सुरक्षित लाग्ने अर्का कानुन व्यवसायी अधिवक्ता मदन दाहाल बताउँछन् ।
