What you should know
मकवानपुर — मकवानपुरका तीन छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् ।
हेटौंडा–२ सानो पोखराचोकस्थित चिया पसलबाट अवैध लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका घर भइ हाल: सानो पोखरामा चिया पसल गरी बस्ने वर्ष ४२ वर्षीया सरस्वती मुक्तान, १९ वर्षका रोजन मुक्तान र भारतको मोतीहारी बस्ने २३ वर्षका सुल्तान खानलाई पक्रेको हो । लुकाएर राखेको अवस्थाको १८८ क्याप्सुल लागूऔषध ट्रामाडोल र ५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै हेटौंडा २ स्थित पुरानो मनकामना पथमा डेरा गरी बस्ने २१ वर्षीय अंकित दोङलाई प्रहरीले नाइट्राभेटसहित पक्रेको छ । कोठा खानतलासीको १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला परेको प्रवक्ता अर्यालले बताए ।
यस्तै, प्रहरीले हेटौंडा १२ का २२ वर्षका नवीन श्रेष्ठ र २६ वर्षीय विजय बललाई लागू औषधसहित पक्रेको छ । प्रहरीले उनीहरुको साथबाट लागू औषध नाइट्राभेट २२ ट्याब्लेट र ९ बट्टा चुरोट फेला पारेको छ ।
हेटौंडा–११ झोलुङ्गे पुलस्थित कान्छा बलको घुम्ती पसल फुटाएर सामान चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनीहरुको शरीर खानतलासीको क्रममा लागूऔषध फेला परेको हो । लागूऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
