हेटौंडा — भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको मंगलबार बसेको इजलासले थाहा नगरपालिका–१ कुन्छालका ५० वर्षीया भाउजु तुलुमाया गोपालीको हत्या गरेको आरोपमा थाहा नगरपालिका–१ कुन्छालका ३५ वर्षीय देवर विमलमान गोपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।
२०८२ असार ५ गते घरको आगनमा नै भाउजुको गर्धनमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले विमलमानलाई पक्राउ गरेको थियो । भाउजुले देवरलाई लागुऔषध र मदिरा नखान सम्झाउदै आएकी थिइन् ।
सम्झाएकै कारण देवर र भाउजुको विगत एक वर्षदेखि बोलचाल थिएन । तर उनीहरु एउटै घरमा बस्थे । चुल्हो अलग थियो । आगनमा निस्केको अवस्थामा एक्कासी विमलमानले भाउजुको गर्धनमा खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।
थाहा नगरपालिकास्थित थाना बजारमा रहेको इलाका प्रहरी कार्यालय पालुङले भाउजुको हत्या गर्न प्रयोग गरेको खुकुरीसहित उनलाई पक्राउ गरेको थियो ।
