मकवानपुर जिल्ला अदालतद्वारा ७० प्रतिशत मुद्दा फर्स्यौट

असार ३२, २०८२

प्रताप विष्ट

Makwanpur district court dismissed 70 percent of cases

हेटौंडा — जिल्ला अदालत मकवानपुरले आव ०८१/०८२ मा करिब ७० प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । 

अघिल्लो आवकोभन्दा मुद्दा फर्स्यौट करिब ११ प्रतिशत बढी हो । आव ०८१/०८२ मा जिम्मेवारी सरेर आएको १ हजार ५ सय ९७ मुद्दा र नयाँ दर्ता २ हजार ५ सय ५३ थान मुद्दासहित यस आवमा ४ हजार १ सय ५० थान मुद्दा जिल्ला अदालतमा रहेका थिए । तीमध्ये २ हजार ८ सय ६८ थान अर्थात् ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्यौट भएको अदालतकी स्रेस्तेदार रोशी भण्डारीले जानकारी गराइन् ।

अदालतको प्रगति विवरण जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा सेस्तेदार भण्डारीले आव ०८०/०८१ मा ३ हजार ८ सय ७१ थान मुद्दामा २ हजार २ सय ७४ थान अर्थात् ५८ दशमलव ७४ प्रतिशत मुद्दा फर्स्यौट गरिएको थियो  ।

जिल्ला अदालत मकवानपुरमा २ वर्ष नाघेका २ वटा मात्र मुद्दा फर्स्यौट हुन बाँकी छन् । आव ०८०/०८१ मा २ वर्ष नाघेका मुद्दा २२ थान थिए । मकवानपुरमा जिल्लामा लागूऔषध, सम्बन्ध विच्छेद, बैंकिङ कसुर र जबरजस्तीकरणीका मुद्दाहरू धेरै छन् । ती मुद्दाहरू अदालतमा दर्ता हुने क्रम बर्सेनि बढ्दै गएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए ।

जिल्ला अदालतले मंगलबार अपराह्न आयोजना गरेको उक्त कार्यक्रममा चारै जना न्यायाधिशहरुको उपस्थिति रहेको थियो ।

जिल्ला अदालत मकवानपुरमा स्रेस्तेदारसहित चारै जना न्यायाधीशहरू महिला रहेका छन् ।  जिल्ला अदालतमा ६० जना कर्मचारी रहेका छन् । तीमध्ये २६ जना महिला छन् । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully