सिन्धुली — बीपी राजमार्ग अन्तर्गत भकुण्डेवेसी–नेपालथोक खण्डको तीनस्थानमा मंगलबार राति आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको छ ।
प्रहरीका अनुसार काभ्रेको माम्ती खोलाको बाढीले सडक कटान गरेको, पिन्थली र बीरुवाडाँडामा लेदो सहितको पहिरो आएकोले बीपी राजमार्ग भएर सिन्धुली हुँदै राजधानीतर्फ जाने सवारीलाई होल्ड गरिएको हो ।
सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट, अन्य पहिरो जाने संभावना नभएका स्थानमा यात्रु र सवारी साधनको सुरक्षाका लागि सयौंको संख्यामा होल्ड गरिएको छ ।
काठमाडौं जाने सवारी साधन तथा मालबाहक सवारी होल्ड हुँदा लामो एकतर्फी लामो जाम भएको छ भने यात्रुहरु अलपत्र छन् । बीपीका अलावा, मध्येपहाडी र मदन भण्डारी लोकमार्ग भएर आएका सवारी साधन पनि रोकिएका छन् ।
प्रहरीका अनुसार जेसिभी लगाएर सडक मर्मत तथा लेदो पन्छाउने काम भइरहेकाले यातायात सञ्चालनमा आउन समय लाग्नेछ ।
