काभ्रे — जिल्लाका विभिन्न पालिकाका ५ सय ४ छात्रालाई शिक्षामा सहयोग गरिएको छ । काभ्रेको पाँचखाल, नमोबुद्ध, धुलिखेल र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी गाउँपालिकामा यस वर्ष कक्षा १ देखि १० सम्मका ३ सय ९० र कक्षा ११ र १२ मा अध्ययनरत १ सय १४ गरी ५ सय ४ बालिकालाई शिक्षाका लागि सहयोग गरिएको हो ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेस्ट)ले अमेरिकन हिमालयन फाउन्डेसन र फाउन्डेसन फर र जस्ट सोसाइटी इन्टरनेसनलको सहयोगमा काभ्रेका ५ वटा स्थानीय तहका छात्रालाई शिक्षामा सहयोग गरेको हो ।
संस्थाले कक्षा १ देखि १० सम्म अध्ययनरत छात्रालाई वर्षभरि चाहिने स्टेसनरी, झोला, कपडा र ज्यालाबाट प्रतिव्यक्ति ८ सयका दरले सहयोग गर्नुको साथै अतिरिक्त परीक्षा, भर्ना शुल्का लागि अभिभावकलाई २ हजार २ सयका दरले सहयोग गर्ने गरिएको छ । कक्षा ८ र ९ मा अध्ययनरतलाई अतिरिक्त कक्षाका लागि जनही २ हजार, कक्षा ९ र १० मा अध्ययनरतलाई अतिरिक्त किताबका लागि ८ सय र माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारीका लागि ७ हजार र प्राविधिक धारका लागि ५ हजारका दरले सहयोग गर्ने गरेको संस्थाका वरिष्ठ फिल्ड अधिकृत उमेश नेपालले जानकारी दिए ।
उनका अनुसार कक्षा ११ र १२ मा अध्यनरतको पोसाकका लागि ४ हजार ५ सय, किताबका लागि ४ हजार ५ सयदेखि ५ हजार ५ सयसम्म, गाडी भाडा १ हजार ५ सयदेखि ३ हजारसम्म, कोठा भाडा ३ हजार र कलेजको सम्पूर्ण शुल्क सहयोग गर्दै आएको छ । रेस्टले काभ्रेका पाँच स्थानीय तहका १९ विद्यालयमा २०५९ सालयता ५ हजारभन्दा बढी बालिकाको शिक्षाका लागि सहयोग गरिसकेको छ ।
पाँचखालकी पूर्णिमा श्रेष्ठले संस्थाबाट पाएको सहयोगले आफूले पढाइलाई निरन्तरता दिन सकेको बताउँदै संस्थाप्रति कृतज्ञता व्यक्त गरिन् । रेस्टबाट छात्रवृत्ति पाउने बालिकाका अभिभावक हीरामणि प्याकुरेलले संस्थाको सहयोगबिना छोरीलाई यो स्थानमा ल्याउनै नसक्ने भन्दै संस्थालाई धन्यवाद दिए । 
संस्थाकी अध्यक्ष कमला अधिकारीले पढाइ नहुँदा छोरीहरू पछाडि परेको, हिंसा, शोषण भोग्ने गरेको देखेर २०४९ सालमा छात्रवृत्ति कार्यक्रमका रूपमा संस्था सुरु गरेको जानकारी दिइन् । कक्षा १२ सम्मको शिक्षामा संस्थाले सहयोग गर्दै आएको बताउँदै उनले त्यसपछि सक्षम भएर आफ्नो पढाइ र खर्च धान्न सक्ने बन्नुपर्ने उनले बताइन् ।
कार्यक्रमबाट छात्राहरूको शिक्षामा योगदान पुगेको, बेचबिखन, लैंगिक हिंसा र बालविवाह रोक्न मद्दत गरेको, विद्यालय छोड्ने दर घटेको लगायतका सकारात्मक प्रभाव परेको रेस्टले कार्यक्रमअन्तर्गत सञ्चालन गरेका विभिन्न योजनाको सामाजिक परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । सीमित स्रोत र साधनका बीच संस्थाले काभ्रे जिल्लाका विभिन्न स्थानीय तहमा छात्रा शिक्षाका लागि ठूलो सहयोग गरेको भन्दै प्रतिवेदनमा यसको दायरा र संख्या थप गर्न सुझाव दिइएको छ ।
