कुलेखानीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता

असार २८, २०८२

सुवास विडारी

One person went missing while swimming in Kulekhani

मकवानपुर — मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक बेपत्ता भएका छन् । शनिबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।

बाराको कलैया-१ घर भई हाल काठमाडौं माइतीघर बस्ने अन्दाजी १७/१८ वर्षीय कर्ण भन्ने प्रणय गुप्ता बेपत्ता भएको मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । गुप्ता साथीहरुसँग मार्खु घुम्न आएको र सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको जनाइएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङको टोली परिचालन गरिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully