पहिरोले सडक नै बगाएपछि कान्तिलोक पथ अवरुद्ध

असार २६, २०८२

प्रताप विष्ट

The Kantilok Path was blocked after the landslide washed away the road itself

हेटौंडा — वर्षाका कारणले सडक नै बगेकाले कान्ति लोकपथ बिहीबार बिहान एक बजेदेखि नै अवरुद्ध भएको छ ।

बुधबार राति परेको वर्षाका कारणले कान्तिलोकपथस्थित ठिंगन–बाग्मती खोलाको सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–८ बगुवामा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

‘सडक नै खसेपछि आधाभन्दा बढी बाटो छैन । मुस्किलले मोटरसाइकल चल्न सक्छ, अरु सवारी साधन आउजाउ गर्न सक्ने अवस्था छैन,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरिक्षक विद्यासागर मेहताले भने, ‘कान्तिलोकपथ सञ्चालनमा ल्याउन दिनभरी नै लाग्न सक्छ, ठेगान छैन ।’ 

जेसीबीहरु प्रयोग गरेर काम गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । ‘सडक नै ताछिएर पहिरो गएकाले तलबाट नै जग उठाएर ल्याउनुपर्ने छ’ प्रहरी निरीक्षक मेहताले भने । बुधबार पनि उक्त सडक खण्डमा पहिरो गएर पाँच घण्टा कान्तिलोकपथ बन्द भएको थियो ।

कान्तिलोकपथ भएर हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनहरु ठिंगनमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडातर्फ आउने गाडीहरु बाग्मती पुल पारी नै ललितपुरतर्फ रोकिएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully