काभ्रे — जिल्लाको पनौती नगरपालिका अनिवार्य निःशुल्क शिक्षा लागू भएको नगर घोषणा भएको छ । बुधबार पनौती नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमको अवसरमा नगरपालिकालाई अनिवार्य निःशुल्क शिक्षा लागू भएको नगर घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पाँच बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई नगरलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगर घोषणा गरेका हुन् । साथै समन्वय प्रमुख गौतमले नगर प्रमुख राम शरण भण्डारी र उप–प्रमुख गीता बञ्जारालाई अनिवार्य निःशुल्क शिक्षा लागू भएको नगर घोषणा गरिएको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख गौतमले नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत शिक्षा, स्वास्थ्य रोजगारलगायतका विषयलाई सुनिश्चित गरिएको र संविधानमा उल्लेख भएको कुरालाई कार्यान्वयन गर्ने कार्यक्रम रहेको बताए ।
उनका अनुसार, शिक्षामा सबैको पहुँचको सुनिश्चितता गर्नको लागि पनि यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको छ । दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागि यो कार्यक्रम महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो ।
त्यस्तै, समन्वय समितिका उप–प्रमुख रिमबहादुर तामाङले शिक्षामार्फत नै सर्वाङगिण विकासको सम्भव भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा भएको व्यवस्था बमोजिम ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराई नगरपालिकालाई अनिवार्य निःशुल्क शिक्षा लागू भएको नगर घोषणा गरिएको बताए ।
उनका अनुसार, नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको नगरको शिक्षा क्षेत्रा सुधार देखिएको छ । जसको परीणाम स्वरुप एसईईको परीक्षामा तुलानात्मक रुपमा प्रगति भएको उनको भनाइ थियो ।
नगरपालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहुँचमा पुर्याउनको लागि सबैको साथ सहयोग र सहकार्यका कारणले नगरपालिकालाई अनिवार्य निःशुल्क शिक्षा लागू भएको नगर घोषणा गर्न सम्भव भएको पनौती नगरपालिकाकी उप–प्रमुख गीता बञ्जाराले बताइन् ।
नगरपालिकालाई शिक्षामा सबैको पहुँचसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनले जानकारी दिइन् ।
