काभ्रे — गएरातिको वर्षासँगैको पहिरोको कारण अवरुद्ध भएको विपी राजमार्गमा अहिले दुईतर्फी यातायात सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार, विपी राजमार्ग अन्तर्गत भकुण्डे–नेपालथोक सडकखण्डको पिङथली, चारसयवेशी र मंगलटारमा पहिरो झरेको कारण सडक अवरुद्ध भएकाले रातिको १ बजेदेखि नै सवारी होल्ड गरिएको थियो ।
पहिरोका कारण राजमार्गमा सवारी र यात्रुलाई समस्या नहोस् भनेर काठमाडौंबाट सिन्धुलीतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र सिन्धुलीबाट काठमाडौंतर्फ आउने सवारीलाई मंगलटारमा होल्ड गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
उनका अनुसार, अहिले उक्त स्थानमा पहिरो पन्छाएको छ । राजमार्गमा अहिले दुईतर्फी यातायात सुचारु गरिएको उनले बताए ।
