काभ्रे — जिल्लास्थित बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका-२, सेल्फीडाँडामा स्कुल बस र मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ ७:३० बजे नमोबुद्धबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ७१ नम्बरको सगुन विद्या मन्दिरको स्कुल बस र विपरीत दिशाबाट बा ७१ प ६८८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी चौकी भकुण्डेबेंसीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार नमोबुद्ध नगरपालिका-२ का २३ वर्षीय पासाङ तामाङ र पछाडी सवार २२ वर्षीय विजय तामाङ सख्त घाइते भएको र उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरी चौकी भकुण्डेबेंसीका प्रहरी नायब निरीक्षक गोपाल खड्काले जानकारी दिए ।
बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बस प्रहरीको नियन्त्रणमा छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
