जनस्वास्थ्य कार्यालयमा स्थायीभन्दा करारका कर्मचारी धेरै 

असार २२, २०८२

रमेशकुमार पौडेल

Public Health Office has more contract staff than permanent staff

चितवन — संघीयतासँगै तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि परिवर्तन भयो। प्रदेश सरकारको मातहत रहने गरी स्वास्थ्य कार्यालय नामाकरण गरे पनि नयाँ नाम धेरै रहेन। फेरि जनस्वास्थ्य कार्यालय नै नामाकरण गरियो। नाम त पुरानै फर्कियो। तर दरबन्दी अनुसारका कर्मचारी भने अहिलेसम्म पनि छैनन्।

चितवनको जनस्वास्थ्य कार्यालयमा २१ जनाको दरबन्दी भए पनि १२ जनाको मात्रै पदपूर्ति भएको छ। स्थायीभन्दा करारका कर्मचारी धेरै छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै जनस्वास्थ्य प्रवर्द्धनको काम गर्ने कार्यालयमा दरबन्दी अनुसार पदपूर्ति नभए पनि करारका कर्मचारीबाट व्यवस्थापन हुँदै आएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतिले छात्रावृत्ति र करारका १० जनासहित कार्यालयमा १५ जना कर्मचारीमात्र रहेको बताए। स्थायी कर्मचारीले पनि बाँडिएर काम गर्नुपरेको उनको भनाइ छ।

जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी इन्द्रमणि भण्डारीले कार्यालयका लेखा अधिकृतले प्रदेश लेखा इकाईको पनि जिम्मेवारी हेर्ने गरेको बताए । ‘करारका कर्मचारीबाट काम गर्नु परेको छ । त्यस्तो ठुलो समस्या त केही आइपरेको छैन । तर स्थायी नभइ करारका कर्मचारीहरुबाट काम गर्नु पर्दा नियमित हुन नसक्ने समस्या रहन्छ । फेरि अर्को तर्फ स्थायी कर्मचारीले पनि दुई कार्यालयको हिसाब हेर्नु परेको अवस्था यहाँ छ,’ भण्डारीले भने ।

नयाँ संविधान घोषणा भएर देशमा संघीयता कार्यन्वयनमा आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरेर तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयको नाम २०७४ साल फागुन ३ गतेदेखि ‘स्वास्थ्य कार्यालय’ रहेको थियो । तर ६ वर्ष बित्दा नबित्दै २०८९ साल पुसबाट पुरानै नाम जनस्वास्थ्य कार्यालय कायम भएको हो । कार्यलय स्वास्थ्य सचेतना अभियान, रोग परीक्षण शिबिर र समन्वयका कामहरु गर्दै आएको छ ।

साढे ६ हजारको स्वास्थ्य परीक्षण, २० प्रतिशतमा मोटोपना

कार्यालयले आइतबार बिहान भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर चालु आर्थिक वर्षमा भएका कामहरुको विवरण सार्वजनिक गरेको छ। फागुन महिनालाई नसर्ने रोग विरुद्धको अभियान महिनाका रुपमा मनाइने र त्यो बेला जिल्लाका सातवटै पालिकामा ६ हजार ७५९ जनाको स्वास्थ्य परीक्षण भएको कार्यालयका प्रमुख दिनेश रुपाखेतिले बताए । जसमध्ये करिब २० प्रतिशत अर्थात एक हजार २९७ जनामा मोटोपना देखिएको छ ।

‘मोटोपनाले मुटु र मधुमेहको समस्या ल्याउन सक्छ । त्यसैले सतर्क रहनु पर्ने हुन्छ । मोटोपना घटाउनका लागि विभिन्न विधिहरु अपनाउन हामीले सल्लाहा दिने गरेका छौं’ रुपाखेतिले भने । त्यसै गरी परीक्षण गरिएकामध्ये ८७८ जनामा उच्च रक्तचाप, ५२२ जनामा मधुमेह र २३९ जनामा पिसाबमा अल्बुमिन देखिएको थियो । अल्बुमिन देखिदा मृगौलामा असर परेको हुन सक्ने रुपाखेतिले बताए ।

त्यसै गरी सातवटै स्थानीय तहमा एक हजार ६० जनाको आँखा परीक्षण गर्दा ७५ जनामा मोतिया बिन्दुको समस्या भेटिएको थियो । स्तन क्यान्सर भए नभएको पत्ता लगाउन ८५३ जना महिलामा परीक्षण गर्दा ५३ जनामा क्यान्सर हुन सक्ने सम्भावना देखिएका कारण थप परीक्षणका लागि भरतपुरको वीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल पठाएको जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतिले जानकारी दिए ।

उनले जिल्लामा शिशुलाई आमाको दूध प्रतिस्थापन गर्ने बस्तुहरुको बिक्री वितरण र नियन्त्रण ऐन २०४९ का बारेमा बहस पैरबी कार्यक्रम पनि गरेको जानकारी दिए । गर्मी याम र बर्खासँगै चितवनमा डेंगुको प्रकोप सुरु हुन्छ । गत वर्ष चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार वरपर डेंगुले महामारीको रुप लिएको थियो । यो वर्ष डेंगु गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, भाडाहरुमा सफा पानी जम्न नदिने जस्ता सचेतना मुलक अभियान सुरु गरेको पनि उनले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully