काभ्रे — बीपी राजमार्गमा रातिको समयमा थप एक महिना यातायात सञ्चालनमा रोक लगाइएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णय अनुसार, साँझ ६:३० देखि बिहान ५ बजेसम्म थप एक महिनासम्म बीपी राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ जानकारी दिए ।
असार ६ गते सिन्धुलीको खुकोर्टमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकको निर्णयबमोजिम बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै १५ दिनका लागि रातिको समयमा गाडी चलाउन रोक लगाइएको थियो । उक्त निर्णयअनुसार काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डको विभिन्न स्थानमा जोखिम भएकाले रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
राजमार्गमा बाढी/पहिरोजस्ता विपदजन्य घटनाको जोखिम कायम नै भएकाले जिल्लास्थित सुरक्षा समितिको निर्णयअनुसार रातको समयमा यातायात सञ्चालन रोक लगाउने समय थप गरिएको श्रेष्ठले शुक्रबार जारी सूचनामा उल्लेख छ ।
