सिन्धुपाल्चोकमा पहिरोसँगै जमिन भासिँदा वडा कार्यालय, स्वास्थ्य चौकी र घर जोखिममा

असार २०, २०८२

अनिश तिवारी

In Sindhupalchowk, ward office, health post and house are at risk due to landslides

सिन्धुपाल्चोक — जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा बिहीबार बेलुकीको अविरल वर्षासँगै पहिरो खसेपछि वडा कार्यालय, स्वास्थ्य चौकी र घर जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार राति करिब ११ बजेदेखि परेको लगातारको वर्षाले पहिरो खस्दा वडा नं. १ को कार्यालय र नजिकै रहेको स्वास्थ्य चौकीजस्ता महत्त्वपूर्ण संरचना जोखिममा परेका हुन् ।

'यीसहित स्थानीय केशवलाल श्रेष्ठको इँटा र सिमेन्टले बनेको तीन तले पक्की घरको एउटा झ्यालमा पहिरोले क्षति पुगेको छ, भवन र बस्ती तलतिरबाट लगातार जमिन भास्सिन थाल्दा जोखिम झन् बढेको छ,' जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने ।

In Sindhupalchowk, ward office, health post and house are at risk due to landslides

साथै, घर अगाडि रहेको फलाम र जस्ताले बनेको छाप्रोसमेत क्षतिग्रस्त भएको प्रहरीले  जनाएको छ । उक्त क्षेत्रको स्थलगत अवलोकनका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीय सरकार तथा सरोकारवाला निकायको संयुक्त टोली घटनास्थलमा परिचालित भएको छ ।

हाल जोखिमयुक्त स्थानहरू खाली गराउने प्रक्रिया अघि बढाइएको छ । प्रभावित संरचना तथा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहमार्फत पहल थालिएको चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ । प्रहरी, स्थानीय प्रतिनिधि र उद्धार टोलीले सम्भावित थप क्षति रोक्न सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully