काभ्रे — गत असोजको दोस्रो साता आएको बाढी/पहिरोबाट अतिप्रभावित काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विपद प्रतिकार्यका लागि स्वयंसेवक खटाउने भएको छ ।
जोखिम न्यूनीकरण गर्न पालिकामा सूचीकृत बेरोजगार नागरिकलाई विपद प्रतिकार्य तथा पूर्वतयारी जस्ता कार्यमा सामेल गराउने शुक्रबारको बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाले ६ वटै वडामा विपद प्रतिकार्यका लागि स्वयंसेवक तयार गर्नेछ ।
‘पालिकामा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रोजगार संवाद मञ्च गठन गरिएको छ,’ उनले भने, ‘मञ्चमार्फत गाउँपालिकामा सूचीकृत भएका ५०८ जना बेरोजगार नागरिकलाई आवश्यकताअनुसार विपद प्रतिकार्यमा लगाउने गाउँपालिकाले निर्णय गरेको छ ।’
विपद प्रतिकार्यमा खटाउनु अघि त्यस सम्बन्धी तालिम तथा परामर्शको कार्यक्रम गरिनेछ । उनले भने, ‘तालिम तथा परामर्श प्रदान गरेर उनीहरुलाई विपद उद्धारका सामग्री पनि उपलब्ध गराइनेछ ।’
