पूर्णखोप सुनिश्चित बन्यो ललितपुर महानगर

असार १९, २०८२

रासस

Lalitpur metropolis has become fully protected

पाटन (ललितपुर) — ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका ६ स्थानीय तहमध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने पाँचौं स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१, काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११, बागमती गाउँपालिकाले जेठ १३ र कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले जानकारी गराए ।

पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा मन्तव्य राख्दै महानगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको बताए । 'हामीलाई नगरपालिका सङ्घले २९३ नगरपालिकामध्ये उत्कृष्ट भनेर पुरस्कृत गरिसकेको छ, जिल्ला जनस्वास्थ्य र विश्व स्वास्थ्य सङ्गठनबाट हामीले महत्त्वपूर्ण सहयोग पाइरहेका छौँ, हामी अत्यन्तै निगरानी गरेर यसलाई कायम राख्न तयार छौँ,' उनले भने ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का प्रतिनिधि डा सागर शाक्यले पूर्ण खोप सुनिश्चितता घोषणासँगै दिगोपना कायम गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकाभन्दा पहिला नै घोषणा गर्न सफल भएकामा बधाई दिए ।

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराइन् ।

राष्ट्रिय स्तरमा २०३४ मा सुरु भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारीअनुसार काम भइरहेको छ । 

सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।

रासस

Link copied successfully