हेटौंडा-४ का अध्यक्षमाथि हातपात गर्ने पक्राउ

असार १९, २०८२

प्रताप विष्ट

Arrested for assaulting the Chairman of Hetaunda-4

काठमाडौँ — हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ। बिहीबार हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौंडा क्याम्पस अगाडि छलफल भइरहँदा वडाध्यक्ष सिग्देलमाथि काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामाले हातपात गरेको प्रहरीले जनाएको छ।

वडाध्यक्षमाथि आक्रमण गर्ने महिला निर्माण व्यवसायी भएको प्रहरीको भनाइ छ। सडक निर्माणको विषयमा वडाध्यक्षले कुरा राखिरहेकै क्रममा मञ्जु लामाले भिडियो खिच्न थालेपछि वडाध्यक्षले भिडियो नखिच्न आग्रह गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार, वडाध्यक्षले भिडियो नबनाउन भन्दै मोबाइल बन्द गर्न भनी हातले छेकेपछि महिलाले एक्कासी वडाध्यक्षमाथि आक्रमण गरेकी थिइन्।

वडाध्यक्षमाथि आक्रमण भएपछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

ढल निकाससहित सडक विस्तार गर्न ठेक्का सम्झौता भएपश्चात स्थानीयले दुई साताभित्रै पर्खाल भत्काएर बाटो फराकिलो बनाई निर्माण व्यवसायीलाई काम गर्न सहज बनाइदिएका थिए। तर झन्डै डेढ वर्षसम्म पनि सो सडक निर्माण हुन सकेको थिएन। असारको अन्त्यतिर बुधबारदेखि मात्रै व्यवसायीले ढल निर्माणका लागि खाल्डो खन्न थालेका थिए। बिहीबार बिहानको विवादसँगै निर्माण कार्य रोकिएको छ। वडाध्यक्षमाथि आक्रमणको घटनापछि वडा कार्यालयले शुक्रबारका लागि तय गरिएको कार्यक्रम रद्द गरेको छ।

उपमहानगरपालिकाले शुक्रबार सेवा बन्द गर्ने

वडाध्यक्ष सिग्देलमाथि भएको आक्रमणको विरोधमा हेटौंडा उपमहानगरपालिकाले शुक्रबार दिने सेवा बन्द गर्ने निर्णय गरेको छ। १९ वटै वडा कार्यालय र उपमहानगरपालिकाबाट शुक्रवार सेवा ठप्प पार्ने निर्णय गरिएको मेयर मीनाकुमारी लामाले बताइन्।

असार ४ गते १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणमा संलग्नलाई अझै कानुनी दायरामा ल्याउन नसकेको अवस्थामा ४ नम्बर वडाका वडाध्यक्षमाथि पुनः आक्रमण हुनु निन्दनीय भएको र आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरिएको मेयर लामाले जनाइन्। उपमहानगरपालिकाले घटनाको विरोधमा प्रेस विज्ञप्ति पनि जारी गरेको छ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully