मकवानपुरको राक्सिराङमा बन्यो आयुर्वेद औषधालय भवन

असार १८, २०८२

प्रताप विष्ट

An Ayurveda dispensary building was built at Raksirang in Makwanpur

हेटौंडा — मकवानपुरको दुर्गम गाउँमा निर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्माण गरिएको आयुर्वेद औषधालय भवनको मंगलबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमका रूपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

बानियाँले कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । राक्सिराङ गाउँपालिकाको सिलाधुनीमा रहेको उक्त आयुर्वेद औषधालय पायक पर्ने स्थानमा नभएको भन्दै गाउँपालिकाले ठाडेचुरीमा भवन निर्माण गरेर सेवा दिन सुरु गरेको हो ।

An Ayurveda dispensary building was built at Raksirang in Makwanpurऔषधालयमा ओपीडी सेवा, जेष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामबचन साहले दिए ।

गाउँपालिकाको ३० लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । उक्त भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय रामबहादुर चेपाङले निःशुल्क रूपमा दान दिएका थिए ।

पञ्चायतकालमै मकवानपुरमा दुईवटा आयुर्वेद औषधालय स्थापना गरिएको थियो । जडीबुटी प्रचुर मात्रामा रहेको राक्सिराङको सिलाधुनीमा जिल्लास्तरीय आयुर्वेद औषधालय स्थापना गरिएको थियो । हेटौंडा उपमहानगरपालिका–२ मा अञ्चलस्तरीय आयुर्वेद औषधालय स्थापना गरिएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully