छोरी बलात्कार गर्नेलाई ४५ वर्ष कैद

असार १८, २०८२

प्रताप विष्ट

45 years in prison for raping her daughter

हेटौंडा — छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई ४५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ती अभियुक्तलाई ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । 

जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलासले थाहा नगरपालिका—१ का ३४ वर्षीय वावुले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । जिल्ला अदालत मकवानपुरले  हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताए । बलात्कृत बालिका जेठी पत्निको छोरी हुन् । 

२०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेका थिए । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले इप्रका पालुङमा उजुरी दिएका थिए । उजुरीको आधारमा बाबु पक्राउ पर्नुका साथै अदालतले पुर्पक्षका लागि उनलाई भिमफेदी जेलमा पठाएको थियो ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully