हेटौंडा — पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा भारतीय लरी ट्रक पल्टिएर मृत्यु भएका चालकको शव निकालिएको छ ।
बनारसबाट हेटौंडा-१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आएको यूपी ६१ एटी ०९६२ नम्बरको लरी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा भारत गाजिपुरका ४५ वर्षीय चालक महेन्द्र यादवको च्यापिएर मृत्यु भएको थियो । दुईवटा क्रेनले लगाएर उनको शव निकालिएको हो ।
उक्त दुर्घटनामा भारत गाजिपुरका २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
मंगलबार बिहान साढे २ बजे रातोमाटेको चार्जिङ स्टेसन नजिकै ब्रेक फेल भएर ट्रक पल्टिएको थियो ।
