सीमान्तकृत समुदायका मुद्दा उठाउन क्षमता अभिवृद्धि कार्यक्रम

असार १७, २०८२

कान्तिपुर संवाददाता

Capacity building program to raise issues of marginalized communities

काठमाडौँ — सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन अभिप्रेरित गर्ने उद्देश्यले काठमाडौंमा एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

एकता फाउन्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा मंगलबार काठमाडौंमा सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चारविज्ञ रघु मैनालीले बागमती प्रदेशमा क्रियाशील पत्रकारलाई प्रशिक्षण दिएका हुन् । सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन पत्रकारिताले अहम् भूमिका निर्वाह गर्ने हुँदा यस क्षेत्रमा संवेदनशील हुनुपर्ने उनले बताए । 

सामाजिक न्याय र समावेशिता प्रवर्द्धनका लागि पत्रकारले गर्दै आएका अभ्यासबारे प्रस्ट पार्दै उनले मुद्दा उठानको कला र ज्ञानबारे पनि प्रकाशन पारेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रकाश धौलाकोटीले दलित, महिला र सीमान्तकृत समुदायका मुद्दालाई मूलधारका सञ्चार माध्यमले पर्याप्त मात्रामा उचित स्थान नदिएको बताए । ‘कतिपय निकै ठूला मुद्दालाई साना मिडियाले समेटे पनि मूलधारका सञ्चारमाध्यमले बेवास्ता गरेको उनले बताए ।

पत्रकार तथा एकता फाउन्डेसन नेपालका अध्यक्ष रामहरि शाहीले व्यवस्था परिवर्तनका लागि योगदान गरेका पत्रकारले अब सामाजिक न्याय र समावेशीता प्रवर्द्धनका लागि निरन्तर निगरानी गरिरहनुपर्ने बताए । 

कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक मुद्दाका समाचार लेखनमा सामाजिक तथा आर्थिक लगायत थुप्रै चुनौतीको सामना गर्नुपर्ने अनुभव साझा गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully