सिन्धुपाल्चोक — भोटेकोशी नदीको तीव्र बहावबीच चेपमा फसेका एक युवकलाई प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ ।
इलाका प्रहरी कोदारीकाअनुसार सोमबार बिहान भोटेकोशी गाउँपालिका–४, खोकुण्डोलस्थित नदीको घुम्तीमा अन्दाजी २७ वर्षीय युवक अड्किएका थिए ।
पहिचान खुल्न नसकेका ती युवालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरेको हो । 'भाषाका आधारमा यिनी भारतवासी हुन् कि भन्ने प्रारम्भिक अनुमान छ, मानसिक सन्तुलन ठिक नभएको देखिएको छ, पारिबाट स्थानीयले देखेपछि खबर पाएलगत्तै उद्धारमा खटेका थियौं,' इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले भने ।
आफ्नो नेतृत्वमा पाँच जना प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको उनलेे जानकारी दिए । करिब एक घण्टाको प्रयासपछि युवकलाई सुरक्षित रूपमा नदीको चेपबाट निकालिएको प्रहरीले जनाएको छ । हाल ती युवकको स्वास्थ्य अवस्था सामान्य छ ।
