माडीमा धान रोप्दा अझै भेटिन्छन् गँगटा, बचेको छ अनदी पनि 

असार १५, २०८२

रमेशकुमार पौडेल

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

चितवन — असार १५ धान दिवसको सन्दर्भ पारेर आइतबार माडी नगरपालिका–३ मा पर्ने आदिवासी थारु बहुल पुरानो बस्ती बघौडाको लगहीमा पनि कार्यक्रम सम्पन्न भयो । औपचारिक कार्यक्रमपछि अरू फर्के पनि किसानले रोपाइँ जारी नै राखे । रोपाइँ चल्दै गर्दा आशाकुमारी चौधरीले बाल्टीमा गँगटा बटुलेर ल्याइन् । कुनै समय रोपाइँ हुने खेतमा बटुलेको गँगटाले तरकारी पुग्थ्यो । तर अहिले गँगटा निकै कम भए भन्छिन् उनी ।

‘पानी आएर हलो जोत्न थालेपछि गँगटा निस्कन्छ । पहिला टाँडीमा अलि अलि र घोलखेतमा प्रशस्त हुन्थ्यो । अहिले टाँडीमा छैन, खेतमा अलि अलि छ,’ आशाकुमारीले भनिन् । आठ–दश वर्षयता खेतमा गँगटा घट्दै गएको उनको अनुभव छ ।  रोपाइँका बेला पहिला मासुभन्दा धेरै गँगटा नै खाने गरेको सम्झना सुनाउँदै उनले भनिन्, ‘के भएर होला खै यसरी घटेर गए गँगटा ?’

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

ओमप्रकाश महतो बघौडाको महेश्वरी कृषक समूहका अध्यक्ष हुन् । सो समूहको समन्वयमा माडी नगरपालिका र खाद्यका लागि कृषि अभियानले धान दिवसको कार्यक्रम आयोजना गरेको थियो । उनले पनि खेतमा पहिला गँगटा, भ्यागुता र गड्यौला धेरै नै हुने गरेको र अहिले कम भएको बताए । ‘असार १५ तिर भ्यागुताहरू ड्याँइ डुइँ गर्दै पूरा कराउँथ्यो । गँगटाहरू हिँड्थ्यो । अहिले त कम छ,’ अध्यक्ष ओमप्रकाशले भने ।

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

बघौडाका ८२ वर्षीय जीतराम महतो पहिला र अहिलेको खेती प्रणालीमा ठूलो परिवर्तन आएको बताउँछन् । पहिला एकै व्यक्तिको प्रशस्त खेत हुन्थ्यो । गाउँका सबै मिलेर खेती गर्दथे । अहिले खेत पनि घट्यो, खेतमा देखिने अनेक जीवहरू पनि हराउँदै गए । ‘पहिला गोबर मल मात्रै राखेर खेती हुन्थ्यो । बिघामा ४० मुरी फल्थ्यो । अहिले विकासे मल र बीउ छ, बिघामा ६० मुरी फल्छ । उत्पादन बढ्यो । गँगटा गड्यौला हराए,’ जीतरामले भने ।

अनदीको अवस्था पनि उस्तै 

माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरण पौडेल माडीमा मुख्य खाद्य बाली धान रहेको बताउँछन् । खेतीयोग्य जमिनको ९० प्रतिशत भूभागमा धान खेती हुन्छ । माडीमा आठ हजार दुई सय हेक्टरमा बर्खे धान खेती हुने गर्दछ । त्यसैगरी दुई हजार पाँच सय हेक्टरमा चैते धान पनि रोप्ने पौडेलले बताए । उनले माडीको माटो पनि विविध कारणले गर्दा बिस्तारै बिग्रँदै गइरहेको बताए । 

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

‘तर माडीको धान खास गरेर यहाँ उत्पादन गर्ने अनदी धान राम्रै बिक्री हुने गरेको छ । माडीमा अनदी लगाउने चलन बँचेको छ । अनदी खेती हुने क्षेत्रफल त यकिन छैन । तर आदिवासी थारु समुदाय प्रायले लगाउनु हुन्छ, दुई चार कट्ठामा भएपनि लगाउनु हुन्छ,’ कृषि शाखा प्रमुख पौडेलले भने । तर थारु समुदायले लगाउने अनदीको व्यावसायिक करण भने हुन नसकेको उनले बताए । 

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

केही मोटो दाना, पकाउँदा चाम्रो हुने र बास्ना आउने अनदीको पहाडी समुदायले तीज लगायतका विशेष पर्वमा घ्यु राखेर पकाएर लट्टे, चार्मे खाने गर्दछ । थारु समुदायले पानीको बाफमा अनदी पकाउँछन् । जसलाई चिच्चर भनिन्छ । काममा खट्नेले चिच्चर खान्छन् । माघी जस्ता पर्वमा पनि थारुको भान्सामा चिच्चर पाक्छ । 'अचेल बास्ना आउने रातो अनदी लगाउन काम हुँदै गयो' भन्छन् महेश्वरी कृषक समूहका अध्यक्ष ओमप्रकाश महतो । 

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

‘अनदी रोप्न कम भयो । त्यसमाथि पुरानो रातो अनदी रोप्न झनै कम भयो । सेतो अनदी लगाइन्छ । त्यसको बास्ना खासै हुँदैन । पकाएपछि चाम्रो भने हुन्छ,’ महतोले भने । धान काटेपछि अन्य खेती र तरकारी पनि लगाउने चलन बढ्दै गएका कारण छिट्टो पाक्ने विकासे धानप्रति किसानहरू आकर्षित हुँदै गएको मतहोले बताए । ‘रातो अनदी ढिलो पाक्छ । त्यसैले लगाउन कम भयो । तर हराइ हालेको भने छैन,’ उनले भने । 

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रासायनिक मल विषादीको अन्धाधुन्ध प्रयोगले माटोको उर्वरा तत्त्वलाई नास गर्दै ल्याएको बताउँछन् । माटो बिग्रँदा बाली नसप्रने मात्रै हैन त्यसमा रहेका गड्यौला, गँगटा, भ्यागुताजस्ता जीव, किरा, फट्याङ्ग्रा र माटोको सूक्ष्म तत्त्व नै नष्ट हुँदै गएको बताए । त्यसैले सरकारले प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्दै लैजानुपर्नेमा यसतर्फ राम्रो ध्यान नदिएको उनी बताउँछन् ।

Gangta is still found when paddy is planted in the paddy field, even the unripe leaves are left

रैथाने बीउको संरक्षणमा पनि सरकार उदासीन रहेको अधिकारीले बताए । ‘नेपालमा धानका तीन हजार जात थिए । तर अहिले हराएर ५०/६० वटा मात्रै बचेका छन् । यत्रो क्षति हुँदा पनि सरकारले ध्यान दिएको छैन । आदिवासीहरूले केही न केही भए पनि पुराना जात र खेती प्रणाली जीवित राखेका छन्,’ अधिकारीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully