चितवन — असार १५ धान दिवसको सन्दर्भ पारेर आइतबार माडी नगरपालिका–३ मा पर्ने आदिवासी थारु बहुल पुरानो बस्ती बघौडाको लगहीमा पनि कार्यक्रम सम्पन्न भयो । औपचारिक कार्यक्रमपछि अरू फर्के पनि किसानले रोपाइँ जारी नै राखे । रोपाइँ चल्दै गर्दा आशाकुमारी चौधरीले बाल्टीमा गँगटा बटुलेर ल्याइन् । कुनै समय रोपाइँ हुने खेतमा बटुलेको गँगटाले तरकारी पुग्थ्यो । तर अहिले गँगटा निकै कम भए भन्छिन् उनी ।
‘पानी आएर हलो जोत्न थालेपछि गँगटा निस्कन्छ । पहिला टाँडीमा अलि अलि र घोलखेतमा प्रशस्त हुन्थ्यो । अहिले टाँडीमा छैन, खेतमा अलि अलि छ,’ आशाकुमारीले भनिन् । आठ–दश वर्षयता खेतमा गँगटा घट्दै गएको उनको अनुभव छ । रोपाइँका बेला पहिला मासुभन्दा धेरै गँगटा नै खाने गरेको सम्झना सुनाउँदै उनले भनिन्, ‘के भएर होला खै यसरी घटेर गए गँगटा ?’
ओमप्रकाश महतो बघौडाको महेश्वरी कृषक समूहका अध्यक्ष हुन् । सो समूहको समन्वयमा माडी नगरपालिका र खाद्यका लागि कृषि अभियानले धान दिवसको कार्यक्रम आयोजना गरेको थियो । उनले पनि खेतमा पहिला गँगटा, भ्यागुता र गड्यौला धेरै नै हुने गरेको र अहिले कम भएको बताए । ‘असार १५ तिर भ्यागुताहरू ड्याँइ डुइँ गर्दै पूरा कराउँथ्यो । गँगटाहरू हिँड्थ्यो । अहिले त कम छ,’ अध्यक्ष ओमप्रकाशले भने ।
बघौडाका ८२ वर्षीय जीतराम महतो पहिला र अहिलेको खेती प्रणालीमा ठूलो परिवर्तन आएको बताउँछन् । पहिला एकै व्यक्तिको प्रशस्त खेत हुन्थ्यो । गाउँका सबै मिलेर खेती गर्दथे । अहिले खेत पनि घट्यो, खेतमा देखिने अनेक जीवहरू पनि हराउँदै गए । ‘पहिला गोबर मल मात्रै राखेर खेती हुन्थ्यो । बिघामा ४० मुरी फल्थ्यो । अहिले विकासे मल र बीउ छ, बिघामा ६० मुरी फल्छ । उत्पादन बढ्यो । गँगटा गड्यौला हराए,’ जीतरामले भने ।
अनदीको अवस्था पनि उस्तै
माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरण पौडेल माडीमा मुख्य खाद्य बाली धान रहेको बताउँछन् । खेतीयोग्य जमिनको ९० प्रतिशत भूभागमा धान खेती हुन्छ । माडीमा आठ हजार दुई सय हेक्टरमा बर्खे धान खेती हुने गर्दछ । त्यसैगरी दुई हजार पाँच सय हेक्टरमा चैते धान पनि रोप्ने पौडेलले बताए । उनले माडीको माटो पनि विविध कारणले गर्दा बिस्तारै बिग्रँदै गइरहेको बताए ।
‘तर माडीको धान खास गरेर यहाँ उत्पादन गर्ने अनदी धान राम्रै बिक्री हुने गरेको छ । माडीमा अनदी लगाउने चलन बँचेको छ । अनदी खेती हुने क्षेत्रफल त यकिन छैन । तर आदिवासी थारु समुदाय प्रायले लगाउनु हुन्छ, दुई चार कट्ठामा भएपनि लगाउनु हुन्छ,’ कृषि शाखा प्रमुख पौडेलले भने । तर थारु समुदायले लगाउने अनदीको व्यावसायिक करण भने हुन नसकेको उनले बताए ।
केही मोटो दाना, पकाउँदा चाम्रो हुने र बास्ना आउने अनदीको पहाडी समुदायले तीज लगायतका विशेष पर्वमा घ्यु राखेर पकाएर लट्टे, चार्मे खाने गर्दछ । थारु समुदायले पानीको बाफमा अनदी पकाउँछन् । जसलाई चिच्चर भनिन्छ । काममा खट्नेले चिच्चर खान्छन् । माघी जस्ता पर्वमा पनि थारुको भान्सामा चिच्चर पाक्छ । 'अचेल बास्ना आउने रातो अनदी लगाउन काम हुँदै गयो' भन्छन् महेश्वरी कृषक समूहका अध्यक्ष ओमप्रकाश महतो ।
‘अनदी रोप्न कम भयो । त्यसमाथि पुरानो रातो अनदी रोप्न झनै कम भयो । सेतो अनदी लगाइन्छ । त्यसको बास्ना खासै हुँदैन । पकाएपछि चाम्रो भने हुन्छ,’ महतोले भने । धान काटेपछि अन्य खेती र तरकारी पनि लगाउने चलन बढ्दै गएका कारण छिट्टो पाक्ने विकासे धानप्रति किसानहरू आकर्षित हुँदै गएको मतहोले बताए । ‘रातो अनदी ढिलो पाक्छ । त्यसैले लगाउन कम भयो । तर हराइ हालेको भने छैन,’ उनले भने ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रासायनिक मल विषादीको अन्धाधुन्ध प्रयोगले माटोको उर्वरा तत्त्वलाई नास गर्दै ल्याएको बताउँछन् । माटो बिग्रँदा बाली नसप्रने मात्रै हैन त्यसमा रहेका गड्यौला, गँगटा, भ्यागुताजस्ता जीव, किरा, फट्याङ्ग्रा र माटोको सूक्ष्म तत्त्व नै नष्ट हुँदै गएको बताए । त्यसैले सरकारले प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्दै लैजानुपर्नेमा यसतर्फ राम्रो ध्यान नदिएको उनी बताउँछन् ।
रैथाने बीउको संरक्षणमा पनि सरकार उदासीन रहेको अधिकारीले बताए । ‘नेपालमा धानका तीन हजार जात थिए । तर अहिले हराएर ५०/६० वटा मात्रै बचेका छन् । यत्रो क्षति हुँदा पनि सरकारले ध्यान दिएको छैन । आदिवासीहरूले केही न केही भए पनि पुराना जात र खेती प्रणाली जीवित राखेका छन्,’ अधिकारीले भने ।
