मकवानपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु

असार १४, २०८२

प्रताप विष्ट

A girl died due to lightning in Makwanpur

हेटौंडा — मकवानपुरको एक दुर्गम गाउँमा हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार बेलुका परेको चट्याङ लागेर ६ वर्षीया बालिका एनिका चेपाङको मृत्यु भएको हो । उनकी आमा २५ वर्षीया रविना चेपाङ घाइते भएकी छिन् ।

रविनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेको अवस्थामा एनिका र रविना चट्याङ लागेर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि राति नै मनहरीस्थित अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा एनिकाको मृत्यु भएको थियो ।

रविनालाई थप उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको इप्रका मनहरीका  प्रहरी निरीक्षक विशाल सापाकोटाले बताए । यसैगरी राक्सिराङ गाउँपालिकाको चोराङमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

उनीहरुको अवस्था सामान्य रहेको स्थानीय हरी चेपाङले बताए । मकवानपुरमा चालु आवको ११ महिनामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको छ भने यही अवधिमा २२ जना घाइते भएका छन् । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully